मानव शरीरको घाँटीको अघिल्लो भागमा श्वास नलीको दुवैपट्टि पुतली आकारमा थाइराइड ग्रन्थी रहेको हुन्छ । शरीरको मेटाबोलिक प्रक्रियाका साथै वृद्धि विकासलाई नियन्त्रणमा राख्न र शरीरलाई तन्दुरुस्ती अवस्थामा राख्नका लागि थाइराइड ग्रन्थीले सही मात्रामा थाइराइड हर्मोन उत्पादन गरेको हुनु पर्छ ।
यसको अर्थ मुटु, मांसपेशी र पाचन प्रणालीका कार्य, मस्तिष्कको विकास तथा हड्डीको मर्मतसम्भारमा थाइराइड ग्रन्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । थाइराइड हर्मोन उत्पादनका लागि आयोडिन त्यत्तिकै महत्वपूर्ण छ । आयोडिनको उपलब्धताले निष्क्रिय प्रकारको थाइराइड हर्मोन सक्रिय हुन्छ । यही सक्रिय प्रकारको थाइराइड हर्मोन (ट्राइआयोडोथाइरोनिन) का बलमा शारीरिक तौलको सन्तुलन, शरीरमा शक्तिको मात्रा, आन्तरिक तापक्रम, छाला, कपाल एवं नङको वृद्धि, शरीरको मेटाबोलिज्म निर्धारण हुने गर्छ ।
नेपाल भूपरिवेष्ठित देश भएकाले यहाँ उत्पादन हुने खानेकुरामा आयोडिनको कमी हुने गरेका कारण पनि नेपाल सरकारको पहलमा नुनमै आयोडिन थप्ने गरिएको छ । खानपान, दैनिक जीवनशैलीका कारण थाइराइड गडबडी हुने गर्छ । दुःखको कुरा यस्तै थाइराइड गडबडी नै थाइराइड क्यान्सर बन्न सक्छ भने थाइराइड क्यान्सरमा थाइराइड हर्मोनको उतारचढाव हुन सक्ने कारणले अन्योल निम्तिन सक्छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस क्यान्सरबाट आक्रान्त छन् । सन् २०१५ मा विश्वव्यापी ३२ लाख मानिस थाइराइड क्यान्सरबाट आक्रान्त थिए । पछिल्लो दशकमा यसको वृद्धिदर बढ्दो छ । सन् २०१५ मा करिब ३२ हजार थाइराइड क्यान्सर रोगीको मृत्यु भएको थियो । थाइराइड क्यान्सर धेरै जसो ३५ देखि ६५ वर्षको उमेरका र बढीजसो महिलालाई हुने गरेको छ । एसियाली मूलका क्यान्सर रोगीको मृत्युदर बढी छ ।
लक्षण
थाइराइड ग्रन्थीको तन्तु अनियन्त्रित र असामान्य तवरमा विकसित भएर थाइराइड क्यान्सर हुने गर्छ । थाइराइड कोषले असामान्य वृद्धि हुने क्रममा अन्यत्र फैलिने क्षमता राख्दछ । खासमा घाँटीको सीमित ठाउँमा ट्युमर पलाउनेबित्तिकै यसैको थिचाइका कारणले गर्दा लक्षण चिह्न देखिन थाल्छ ।
थाइराइड ग्रन्थीसँगै श्वासनली, स्वरयन्त्र र खाद्यनली रहने भएकाले घाँटीमा डल्लो (गिर्खा) आउने, निल्न गाह्रो हुने, स्वरमा परिवर्तन भएर धोद्रो हुने, घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने जस्ता लक्षण थाइराइड क्यान्सरमा देखिन्छ तर पनि धेरै जसो बिरामीमा थाइराइड क्यान्सरको सुरुमा कुनै लक्षण नदेखिन पनि सक्छ । तिनीहरूमा अन्य स्वास्थ्य समस्याको परीक्षणको क्रममा वा घाँटीको इमेजिङ (अल्ट्रासाउन्ड वा सिटी स्क्यान) गर्दा यो क्यान्सरको आशङ्का हुने गर्दछ ।
६५ प्रतिशत वयस्कको थाइराइड ग्रन्थीमा सानो गिर्खा देखा परे पनि १० प्रतिशतभन्दा कममा मात्र क्यान्सर खालको हुन्छ तर २० वर्षमुनिको उमेर समूहमा थाइराइडमा गिर्खा आउनु सरोकारको विषय हो । किनकि यो उमेर समूहमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । कहिलेकाहीँ पहिलो लक्षणका रूपमा थाइराइड ग्रन्थी नजिकैको लिम्फनोडको सुजनपछि पीडा हुने तथा स्नायुको संलग्नतासँगै स्वरमा परिवर्तन हुने हुन्छ ।
त्यसो त शरीरको अन्य भागको क्यान्सर फैलिएर थाइराइडमा आएको पनि हुन सक्छ तर यसलाई थाइराइड क्यान्सरको कोटामा राखिँदैन । थाइराइडको सुजन एवं अन्य थाइराइड रोगले पनि क्यान्सर हुन सक्छ ।
जोखिम तत्व
सानै उमेरमा प्राकृतिक वा कृत्रिम कुनै पनि प्रकारको विकिरणको असर परेमा थाइराइड क्यान्सर विकसित हुन सक्छ । चेर्नोबेल, फुकुसिमालगायतका परमाणु दुर्घटनाबाट शिकार भएका कतिपय व्यक्तिमा थाइराइड क्यान्सर देखिएको थियो ।
लिम्फोमा (एकखाले रगतको क्यान्सर) को उपचारार्थ दिइने विकिरण थेरापी पाएकामा थाइराइड क्यान्सर विकसित भएको पाइएको पनि छ । थाइराइडको आकार ठूलो बनाउने थाइराइडको सुजन वा अन्य थाइराइडको समस्याले पनि थाइराइडको क्यान्सर गराउन सक्छ ।
प्यापिलरी थाइराइड क्यान्सर (७५ देखि ८६ प्रतिशत), फोलिकुलर थाइराइड क्यान्सर (१० देखि २० प्रतिशत), मेडुलरी थाइराइड क्यान्सर (५ देखि ८ प्रतिशत) र एनाप्लास्टिक थाइराइड क्यान्सर (१ देखि २ प्रतिशत) गरी थाइराइड क्यान्सरलाई मुख्यतयाः चार प्रकारमा वर्गीकरण गरिएको छ । यसबाहेक थाइराइड लिम्फोमा, स्क्वामस सेल थाइराइड क्यान्सर, सार्कोमा अफ थाइराइड, हर्थले सेल थाइराइड क्यान्सर पनि छन् ।
निदान
थाइराइड क्यान्सरको निदान अल्ट्रासाउन्ड वा एफएनएसीबाट गरिन्छ । एफएनएसी (फाइन निडल एस्पिरेसन साइटोलोजी) थाइराइड ग्रन्थीमा क्यान्सर लागेको आशङ्का गरिएको ठाउँमा सियो छिराएर त्यसमा अड्किएर आएको कोषको विश्लेषण गरी क्यान्सर छ छैन पत्ता लगाउने प्रविधि हो । यसका साथै थाइराइड ग्रन्थीको काम गराई हेर्ने ‘थाइराइड फङ्सन टेस्ट’ अनि रगतमा क्याल्सिटोनिनको स्तर हेरेर पनि यो क्यान्सरको अनुमान लगाइन्छ ।
थाइराइड क्यान्सर लाग्नुअगावै कुनै खालको जाँचपड्ताल वा ल्याब परीक्षण गरेर क्यान्सरको सङ्केत भेटाउने प्रभावकारी खालको कुनै विधि छैन तर थाइराइड क्यान्सर निदान भएपछि यो शरीरमा कहाँ कहाँ
फैलिसकेको छ भनेर हेर्न रेडियाएक्टिभ आयोडिन प्रयोग गरी सिन्टिग्राफी गरेर हेर्न सकिन्छ । गामा स्क्यान पनि सिन्टिग्राफी एक प्रकारको न्युक्लियर इमेजिङ प्रविधि हो । जसमा विकिरणका हिसाबले सक्रिय तत्व (रेडियोएक्टिभ सब्सट्यान्स) शरीरमा पठाई शरीरको एक्सरे जस्तै गरी तस्बिर लिइन्छ ।
थाइराइड क्यान्सर सिधै लिम्फ्याटिक वा रगतबाट नजिकैको मांसपेशी, श्वासनली, खाद्यनली, स्नायुमा सर्दछ । क्यान्सर कति फैलिसकेको छ त्यसैको आधारमा त्यसको चरण निर्धारण गरिन्छ । शल्यक्रियापछि क्यान्सर फैलिने सम्भाव्यता हुन्छ । अतः शल्यक्रियापछि ‘फलोअप’ गर्न ‘होलबडी आयोडिन १३१’ वा ‘१२३ रेडियोएक्टिभ स्क्यान’ पनि गरिन्छ ।
प्रायः थाइराइड क्यान्सरमा थाइराइड हर्मोनको स्तर सामान्य भएको हुन्छ तर थाइराइड ग्रन्थी नै ठूलो भएको अवस्थामा वा अन्यत्रबाट फैलिएर थाइराइडमा सरेको क्यान्सरमा थाइराइड हर्मोनको स्तर बढी वा घटी हुने अवस्था (क्रमशः हाइपोथाइरोडिज्म वा हाइपरथाइरोडिज्म) पनि हुन सक्छ ।
उपचार
शल्यक्रिया नै प्रमुख उपचार विधि हो । यस क्रममा अवस्था हेरेर क्यान्सर प्रभावित केही अंश वा पूरै थाइराइड ग्रन्थी निकालिन्छ । ‘फलोअप’ सतर्कतापूर्ण गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि अल्ट्रासाउन्ड, सिटी स्क्यान, पेट स्क्यान वा रेडियोएक्टिभ आयोडिनको प्रयोग गरी ‘होलबडी स्क्यान’ का साथै रगतमा थाइरोग्लोबुलिन, थाइरोग्लोबुलिन एन्टिबडिज, क्याल्सिटोनिनका मापन गरेर अनुगमन गरिन्छ ।
शल्यक्रियाको अतिरिक्त रेडियोएक्टिभ (विकिरणका हिसाबले सक्रिय तत्व) आयोडिन प्रयोग गरी रेडियोथेरापी दिन सकिन्छ । यदि शल्यक्रिया गर्न नमिल्ने वा हड्डीमा क्यान्सर फैलिएका कारण अधिक पीडा छ भने विकिरण थेरापी (रेडियोथेरापी) दिन मिल्छ ।
त्यसै गरी थाइराइड हर्मोन पनि उपचारका रूपमा प्रयोग गर्न सकिन्छ । टार्गेटेड थेरापी दिन सकिन्छ । शल्यक्रियापछि दोहोरिन सक्ने प्यापिलरी र फोलिकुलर थाइराइड क्यान्सरमा रेडियो एक्टिभ आयोडिन १३१ ले उपचार गर्नुपर्ने हुन्छ । सफल उपचारपछि पाँच वर्ष बाँच्ने सम्भावना ९८ प्रतिशतसम्म रहन्छ । अधिकतर हुने प्यापिलरी थाइराइड क्यान्सर नै भए पनि सरदरमा १०, १५ र २० वर्ष बाँच्ने सम्भावना क्रमशः ९७, ९५ र ९० प्रतिशत हुन्छ ।
–युवामञ्च