• १२ असार २०८१, बुधबार

रुपन्देहीमा श्रमिक अस्पताल स्थापनाका लागि स्थान खोजी गरिँदै

blog

लक्ष्मण पौडेल/भैरहवा समाचारदाता
भैरहवा, जेठ २४ गते ।
सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पतालका लागि रुपन्देहीमा सम्भाव्य स्थानको खोजी गर्न थालिएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेको संयोजकत्वमा खटिएको सुझाव समितिले पछिल्लो पटक भैरहवा पुगि सरोकारवाला निकायसँग छलफल तथा परामर्श गरेको हो ।

सरकारले गत फागुन ५ को मन्त्रिपरिषद् बैठकबाट नेपालमा श्रमिक अस्पताल स्थापनाको काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो । कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित छलफल तथा सुझाव समिति गठन गरेको थियो ।

श्रमिक अस्पताल निर्माणका लागि सरकारले प्रारम्भिक चरणको कार्य सुरु गरिसकेको सहसचिव काफ्लेले बताउनुभयो । “श्रमिक अस्पताल स्थापनका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेबारेमा खोजी र अस्पताल सञ्चालन विधिका बारेमा विभिन्न निकायको परामर्श र सुझाव लिइरहेका छौं,” उहाँले भन्नुभयो ।

समितिले अस्पताल स्थापनाका लागि यसअघि मोरङ, बारा र रूपन्देहीमा सम्भाव्यता अध्ययन गरेको थियो । समितिले असार महिनाको अन्त्यसम्ममा राय–सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने र त्यसपछि सरकारले यसबारेमा डीपीआर तयार पार्ने काफ्लेले बताउनुभयो । श्रमिक सङ्ख्याका हिसाबले सबैभन्दा धेरै सम्भाव्यता रूपन्देही र त्यसपछि बारामा देखिएको छ । समितिले पहिलो प्राथमिकतामा अस्पतालका लागि जग्गा प्राप्तिको विषयलाई राखेको छ ।

एक हजार शय्याको उक्त अस्पताल स्थापनाका लागि न्यूनतम १० बिघा क्षेत्रफल जमिनको आवश्यकता पर्छ । आवश्यक पर्ने जमिन खरिद नगरेर निःशुल्क लिनका लागि छलफल समितिमा वन र भूमि व्यवस्था मन्त्रालयलाई पनि समावेश गरिएको छ ।

नेपालमा जनसङ्ख्याको ठूलो हिस्सा श्रमिक पनि रहेकाले र नेपाललाई गन्तव्य बनाएर विदेशी श्रमिक पनि आउने गरेकाले उनीहरूलाई राज्यले गर्नुपर्ने दायित्वअन्तर्गत श्रमिक अस्पताल स्थापना गर्न लागिएको काफ्लेले बताउनुभयो ।

काफ्लेका अनुसार नेपालको औपचारिक, अनौपचारिक र स्वरोजगार क्षेत्रमा गरी ७० लाखभन्दा धेरै श्रमिकका रूपमा छन् । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या ३० लाखभन्दा धेरै छ ।

“यति धेरै श्रमिक रहेको हिस्सालाई लक्षित गरेर राज्यले सामाजिक सुरक्षाको दृष्टिले प्राथमिकतामा राखेर उपचारको सुविधा दिन अस्पताल स्थापना गर्न लागेको हो ।,”काफ्लेले भन्नुभयो, “नेपाललाई गन्तव्य बनाएर नेपाल आउने विदेशी नागरिकलाई पनि स्वास्थ्यका दृष्टिले सुरक्षित राख्ने दायित्व राज्यको हो ।”

नेपालमा पनि श्रम अस्पताल रहेको र त्यहाँबाट भरपर्दो विशिष्टीकृत सेवा प्राप्त हुने विश्वास विश्वसामु दिलाउन जरुरी भएको काफ्लेले बताउनुभयो । अस्पताल अत्याधुनिक प्रविधि र विशिष्टीकृत सेवासहितको हुनेछ । सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याई श्रमिकलाई सहुलियतपूर्ण ढङ्गबाट सम्पूर्ण उपचार सेवा प्रदान गर्ने योजना छ ।