काठमाडौँ, वैशाख १२ गते । आगामी तीन दिन देशका अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै शनिबारसम्म तातो हावाको लहर बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ । मौसमविद् प्रतिभा मानन्धरले शनिबारसम्म कडाखालको तातो महसुस हुने भएकाले तराईका भूभागमा अत्यधिक गर्मी हुने सम्भावना रहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “तराईका केही जिल्लामा ४२ डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने अनुमान गरेका छौँ, बिहीबारै कतिपय ठाउँमा ४१ आसपास पुगेको पाइएको छ ।” विगत केही दिनयता लगातार बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित हुन थालेको छ । देशका २० वटा प्रमुख तापक्रम मापन स्टेसनले बुधबार रेकर्ड गरेको तापक्रम अनुसार सबैभन्दा बढी तातो भैरहवामा देखिएको छ । त्यहाँको अधिकतम तापक्रम झन्डै ४१ डिग्री रेकर्ड हुन पुगेको थियो ।
मुख्य सडकआसपासको तापक्रम ४२ डिग्री सेन्टिग्रेडसम्म पुगेको स्थानीयले बताएका छन् । त्यसपछि कैलालीको धनगढी, बाराको सिमरा, नेपालगन्ज, जनकपुर, विराटनगर, दिपायलको तापक्रम ४० माथि गएको छ । काठमाडौँ उपत्यकाको तापक्रम बुधबार ३२.७ डिग्री पुगेकोमा बिहीबार नाघेर ३३ डिग्री पुगेको छ ।
विशेष बुलेटिनमार्फत विभागले मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी तथा र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तापक्रम बढ्दा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी गर्न स्थानीय निकायलाई अपिल गरिएको छ । शनिबार अपराह्नसम्म हावाको तापलहर अर्थात् लु चल्ने सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापलहरका कारण आमनागरिकमा पर्ने असर कम गर्न आवश्यक पूर्वतयारी गर्न प्रदेश तथा स्थानीय पालिकालाई परिपत्र गरेको जनाएको छ ।
तापलहरका कारण आममानिसमा स्वास्थ्यसम्बन्धी समस्या बढी देखिने भएकाले पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । तापलहरका कारण सामान्य मानिसलाई थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन सक्छ । दीर्घरोगी, वृद्धवृद्धा, बालबालिका तथा गर्भवती महिलामा थप असर देखिन सक्ने भएकाले उनीहरूलाई घरभित्रै सुरक्षित राख्नुपर्ने सुझाव प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि भने वर्षा गराउने प्रणाली नेपाल भित्रने भएकाले केही भेगमा वर्षा र अन्यत्र बदलीको वातावरण बन्ने जनाएको छ । त्यसले थोरै भए पनि तापलहरमा राहत मिल्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।