सिराज खान
नेपालगन्ज, वैशाख १० गते । नेपालगन्ज रङ्गशालामा सञ्चालन भइरहेको प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुग्न सफल भएको छ ।
पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले एक एक गोल गर्दा बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुट आउटबाट निर्णय भएको थियो । पुलिसको तर्फबाट २९औँ मिनेटमा मिना देउवाले गोल गर्नुभयो भने ८०औँ मिनेटमा आर्मीका तुलसा बोहोराले गोल गरेर खेललाई बराबरीमा ल्याउनुभयो ।
त्रिभुवन आर्मी क्लबका कोच चक्र तामाङले सोचे अनुसारको नतिजा प्राप्त नभएपनि खेलाडीहरुले उत्कृष्ट फुटबल प्रदर्शन गरेको बताउनुभयो यो नतिजाले आगामी दिनमा सिकाई भएको र केही राम्रा खेलाडीको अभाव भएको समेत उहाँले जनाउनुभयो ।
यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले दुबै टिम विभागीय भएकाले प्रतिस्पर्धा कडा भएपनि अन्तिम नतिजा पुलिस क्लबको पक्षमा आएको बताउनुभयो । उहाँले फाइनल खेलमा पनि जितका लागि आफ्नो टोली मैदानमा उत्रिने बताउनुभयो । उपाधिका लागि पुलिस क्लबले रौतहट फुटबल सङ्घ र अर्को विभागीय टोली एपीएफबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको विजेता टिमले पााच लाख ५ हजार ५५५ रुपियाँ र उपविजेता टिमले दुई लाख ५० हजार रुपियाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बताउनुभयो ।