• ९ वैशाख २०८२, मङ्गलबार

कविता वाचन तथा विमर्श

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, वैशाख ९ गते । नयाँ पुस्तालाई साहित्यमा जोड्न बाँकेमा क्याम्पसस्तरमा कविता वाचन तथा विमर्श कार्यक्रम सुरु गरिएको छ । साहित्यमा नयाँ पुस्ताका अनुहार कम देखिन थालेपछि उनीहरूलाई आकर्षित गर्न बाँकेमा यस्तो कार्यक्रम सुरु गरिएको युवा कवि कपिल अन्जानले बताउनुभयो । उहाँले विद्यार्थीलाई साहित्यमा समेट्ने उद्देश्यले कवि महेश पौड्यालको एकल कविता वाचन तथा विमर्श कार्यक्रम नेपालगन्जको अलाइड कलेजमा सञ्चालन गरिएको बताउनुभयो । 

कवि पौड्यालले एकल कविता वाचन तथा विमर्श कार्यक्रममा हालको समसामयिक, देशप्रेम, सिमाना, माया पिरतीलगायतका विविध विषयका डेढ दर्जनभन्दा बढी लामा, छोटा कविता वाचन गर्दा विद्यार्थीले मन पराएका थिए । साहित्यकार प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेले प्राविधिक शिक्षा पढेकालाई पनि साहित्यमा समेट्न यो कार्यक्रम सफल भएको बताउनुभयो । कलेजका संस्थापक डा. रेवती सिंहले कार्यक्रमले आगामी दिनमा साहित्यमा अग्रसर हुन अध्ययनरत विद्यार्थीलाई हौसला दिने बताउनुभयो ।