• ९ वैशाख २०८२, मङ्गलबार

चक्रपथ विस्तार योजना : आइपुग्यो चिनियाँ सर्भे टोली

blog

काठमाडौँ, वैशाख ९ गते । करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्ज खण्ड विस्तारको काम सुरु हुने भएको छ । उक्त खण्डको विस्तारका लागि सर्भे र डिजाइन गर्न चीनको प्राविधिक टोली नेपाल आएको छ । 

काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले चक्रपथको सो खण्ड विस्तार कार्य अगाडि बढाउन सर्भे र डिजाइनका लागि चीनको १८ सदस्यीय प्राविधिक टोली नेपाल आएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “टोलीले सर्भे गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति माग गरेको छ । मन्त्रालयले बुधबारसम्म अनुमति दिने जानकारी प्राप्त भएको छ । मन्त्रालयको अनुमतिपछि टोलीले सुरुमा सर्भेको काम थाल्ने छ । सर्भेको काम सम्पन्नपछि टोलीले डिजाइनको काम सुरु गर्ने छ । छ महिनाभित्र टोलीले सर्भे र डिजाइनको प्रतिवेदन बुझाउने छ ।” उहाँका अनुसार सर्भे र डिजाइनको प्रतिवेदन बुझाइसकेपछि विस्तारको प्रक्रिया सुरु हुने छ ।

चीनले चक्रपथको उक्त खण्डको सर्भे र डिजाइनका लागि परामर्शदाता कम्पनी छनोट गर्न यसै वर्षको जनवरीमा बोलपत्र आह्वान गरेको थियो । छनोट भएका परामर्शदाता कम्पनीका प्राविधिक नेपाल आएको आयोजना प्रमुख ओझाले बताउनुभयो ।

चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । जसमध्ये कलङ्कीदेखि महाराजगन्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । चक्रपथ विस्तारका लागि महाराजगन्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१/३१ मिटर जग्गा अधिग्रहणका लागि मन्त्रीपरिषद्ले यसअघि नै निर्णय गरिसकेको छ ।

चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगन्ज चोक क्षेत्रमा ३० मिटर मात्र छ । जुनसुकै डिजाइनमा विस्तार गरिए पनि महाराजगन्ज चोक क्षेत्रमा पर्ने घर भत्काउनुको कुनै विकल्प नरहेको सडक विभागले जनाएको छ ।

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि २०७५ सालमा सम्झौता भएको यस आयोजनाले २०७५ जेठ १४ मा सूचना जारी गर्दै चक्रपथको क्षेत्र (राइट अफ–वे) मा परेका संरचना हटाउन भनिएको थियो । 

त्यसै गरी २०८१ मङ्सिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा समेत काठमाडौँ चक्रपथ सडक सुधार आयोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो ।