• ३ असार २०८१, सोमबार

भत्ता लिन दुई दिन पैदलयात्रा

blog

बैतडी, जेठ २४ गते  । दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैङ्कमार्फत गर्न थालेपछि सिगास–६, थलाकाँडाका ७३ वर्षीय हरजित दुई दिन पैदल हिँडेर चैत १२ गते सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैङ्क पुग्नुभएको थियो ।

कतिपय ग्रामीण बस्तीमा सडक छैन । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ नागरिक बाध्य भएका छन् । वडा कार्यालयबाट वितरण हुँदैआएको भत्ता गत चैतदेखि बैङ्क खाताबाट वितरण हुन थालेको हो ।

बैतडीको सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिकाले सास्ती भोग्दै आइरहेका छन् ।

यसअघि वडा कार्यालयबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने नियमका कारण सबै लाभग्राहीको बैङ्क खाता खोलिएको सिगास गाउँपालिकाले जानकारी दिएको छ । सडक यातायात नहुँदा ३ नम्बर वडादेखि ९ नम्बर वडासम्मका सेवाग्राही पैदल हिँडेर बाटोमा बास बस्दै सामाजिक सुरक्षा भत्ता बुझ्न आउने गरेको स्थानीय सुरेन्द्र साउदले बताउनुभयो । 

उहाँका अनुसार सिगास–५, ६, ७ र ८ नम्बर वडाबाट हिँडेर बैङ्क भएको ठाउँ सिगास–२ गाँजरी पुग्दा दुई÷ तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ । 

बैङ्कको दुःख पनि उस्तै छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैङ्क सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैङ्कका प्रमुख शेरसिंह साउदले बताउनुभयो ।  उहाँले भन्नुभयो, “बिजुली नहुँदा बैङ्कको सेवा छिटो छरितो हुन सकेको छैन । घाम नलागेको दिन सोलारले काम गर्दैन ।

इन्टरनेट नचल्दा सेवा ठप्प हुने गरेको छ ।”  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भएकाले बैङ्कसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । 

अध्यक्ष धामीले भन्नुभयो, “कृषि विकास बैङ्कसित समन्वय गरेर वडा कार्यालयमार्फत अथवा सहकारीमार्फत भत्ता वितरण गर्ने विषयमा छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो, “राज्यले सम्मान गरेर दिएको सामाजिक सुरक्षा भत्ता लिन साह्रै दुःख भएको छ । यो दुःख कष्ट अन्त्य हुने गरी काम गर्छौं ।” 


Author

गोकर्ण दयाल