• १२ असार २०८१, बुधबार

बिनापाठ्यपुस्तक कक्षा सञ्चालन

blog

मुसीकोट समाचारदाता

रुकुमपूर्व, जेठ २४ गते । रुकुमपूर्वका विद्यालयमा पाठ्यपुस्तकबिनै पठनपाठन सुरु हुँदा असहज भएको भन्दै विद्यार्थीको गुनासो बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अधिकांश विद्यार्थीसँग पाठ्यपुस्तक छैन । जेठ महिना सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । 

शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तिलक गौतमले जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मका सम्पूर्ण पाठ्यपुस्तक रुकुमकोट पुगेको बताउनुभयो । उहाँले पुगेका पाठ्यपुस्तक अर्को सातासम्म सबै विद्यालयमा पु¥याइसक्ने बताउनुभयो । विद्यालयसम्म पाठ्यपुस्तक नपुगेपछि अधिकांश विद्यालयमा विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको विद्यार्थीको गुनासो छ । जिल्लामा ११६ वटा सामुदायिक विद्यालय छन् । एकाइ प्रमुख गौतमले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपूरो आएको बताउनुभयो । त्यही अपूरो किताब पनि विद्यालयसम्म पुगेका छैनन् । 

जिल्लामा २० हजारभन्दा बढी बालबालिका विद्यालयमा भर्ना भएका छन् । कतिपय विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम जारी नै छ तर पाठ्यपुस्तक भने न्यून मात्रामा आएका छन् । आएका किताब पनि अपूरो आएको सिस्ने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले जानकारी दिनुभयो । किताबबिना पढाइ प्रभावित बनेको खबर गाउँपालिकामा आएको बताउनुहुँदै शाखा प्रमुख बुढाले जिल्लामै किताब नपुगेकाले समस्या भइरहेको र सकेसम्म छिटै वितरण गर्नेगरी किताब पु-याउन जिल्लास्थित डिलरलाई ताकेता गरिएको बताउनुभयो । 

यसै शैक्षिक शत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । पाठ्यपुस्तक परिवर्तन भएकाले पुरानाबाट पनि पठनपाठन गर्न मिलिरहेको छैन । सिस्ने गाउँपालिका–१ स्थित माध्यमिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले किताब नहुँदा कसरी पढाउने भन्नेमै अन्योल भएको बताउनुभयो । पाठ्यपुस्तक परिवर्तन भएकाले पनि पुराना किताबबाट पढाउन नमिलेको उहाँको भनाइ छ ।