ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ २३ गते । जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको छ । सोमबार भएको मनोनयन दर्ताको समयअवधिसम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी ७ जना सदस्यका लागि एमालेबाट ४ जना र राप्रपाबाट १ जनाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा थासाङ गाउँपालिकाबाट उमेश विक, घरपझोङ गाउँपालिकाबाट विन्दु नेपाली, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट शान्ताकुमारी विक र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट टसि ल्हामो सेनचरीको एकल उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसअघि स्थानीय तह निर्वाचनमा सहकार्य गरेको राप्रपालाई एमालेले समर्थन गर्दै राप्रपाको विमल नेपालीलाई निर्विरोध गराउन सहयोग गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस निर्वाचनका लागि जेठ १७ गते २५ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तोकिएको निर्धारित समयमा अन्य कसैको उम्मेदवारी नपरेकाले एमालेसहित राप्रपाको उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचितको घोषण निर्वाचन कार्यतालिका अनुसार जेठ २५ गते सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
५ स्थानीय तह रहेको मुस्ताङमा एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष पद जितेको छ । कांग्रेसले १ अध्यक्षसहित २ उपाध्यक्ष जितेको छ ।