• ६ वैशाख २०८२, शनिबार

अनैतिक आन्दोलन

blog

स्वार्थ समूह र सम्बन्धित दबाबसामु सङ्गठनका कुरा सुन्नु पर्छ तर स्वार्थ समूहकै दबाबमा झुक्ने राज्यले समग्र समाजको स्वार्थको रक्षा गर्न असमर्थ हुन्छ । जब यस्ता स्वार्थ समूहले आफ्नो भूमिकाको सीमा नाघेर हस्तक्षेप गर्छन्, त्यतिबेला उनीहरूसँग राज्यले पनि कठोर व्यवहार गर्नु पर्छ ।

झन्डै दुई सातादेखि शिक्षकहरू सडकमा छन् । तिनले सरकारको सन्नीमा समात्न भन्दै एसइईको कापी जाँच्न रोकेका छन् । वैशाख १२ गतेका लागि निर्धारित १२ कक्षाको परीक्षाको काममा सामेल नहुने घोषणा गरेका छन् र विद्यालयमा चार दिनअघिबाट निर्धारित नयाँ शैक्षिक सत्रमा विद्यालय भर्नालगायतका काम ठप्पै पारेका छन् । उनीहरू हाकाहाकी राज्य सञ्चालनका आधारभूत सिद्धान्त तय गरेको संविधानलाई पनि नमान्ने भन्दै जोरजुलुम गर्दै छन् । सरकार र राजनीतिक दलहरू यस्तो आन्दोलनका अगाडि झुक्दै गएको देखिएको छ । केही दिनअघि म शिक्षकका मागमा आँखा डुलाउँदै थिएँ । १८ बुँदामध्ये विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सरकारले सार्वजनिक शिक्षामा साधारण मानिसको पहुँच बढाउन तथा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न के अपनाएका नीतिलाई भने पूरै बेवास्ता गरेका छन् । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक एउटा कम्पोनेन्ट मात्र हो, विद्यार्थी, अभिभावक, पाठ्यव्रmम, पाठ्यसामग्री, भौतिक पूर्वाधार अरू कम्पोनेन्ट तर शिक्षक केवल एउटा कम्पोनेन्टका कुरा उठाएर राज्यलाई झुकाउन खोज्दै छन् । २०३७ र २०३८ सालका शिक्षक आन्दोलनमा सामेल भएको र २०४३ सालमा कास्कीको शिक्षक सङ्गठनको कार्यसमिति सदस्यका रूपमा काम गरेकाले म शिक्षकप्रति केही झुकाव राख्छु तर म अहिले शिक्षकले गरेका आन्दोलनका मागमा सहमत हुन सकिनँ । खास गरी त्यसको मर्ममा जसले विद्यालय व्यवस्थापनसम्बन्धी अधिकार अभ्यास गर्ने निर्वाचित स्थानीय सरकारको संविधानप्रदत्त अधिकारलाई चुनौती दिन्छ, आफूलाई अभिभावकभन्दा एक तहमाथिको भन्ने घमण्ड गर्छ । यो एकप्रकारले अनैतिक आन्दोलन पनि हो ।

राज्यले संविधान बनेको १० वर्ष पुग्न लाग्दासम्म शिक्षासम्बन्धी संविधानको आशय र व्यवस्थापनसम्बन्धी सिद्धान्तलाई व्यवहारमा लागु गर्न अनिवार्य सर्तका रूपमा रहेको शिक्षा ऐन नल्याएर दुनियाँलाई उल्लु बनाएको कुराको जति विरोध गरे पनि कम हुन्छ तर यसको अर्थ शिक्षक सङ्गठन अर्थात् ट्रेड युनियनका अनावश्यक दबाबसामु झुुक्दै राज्यलाई घँुडा टेक्न लगाउने राजनीतिक नेतृत्वको शैलीलाई पटक्कै समर्थन गर्न सकिन्न । 

हालै सङ्घीय निजामती ऐनको प्रस्तावित विधेयकमाथिको छलफलका व्रmममा संसदीय उपसमितिले निजामती कर्मचारीलाई उनीहरूले अवकाश लिएको दुई वर्षसम्म अर्को राजनीतिक नियुक्तिमा जान नपाउनेसम्बन्धी प्रस्ताव उल्ट्याएर त्यस्तो कुलिङ पिरियड नराख्ने सहमति गरेको समाचार आएको थियो । सङ्घीय निजामती कर्मचारीसम्बन्धी ऐन नबनेर सङ्घीय प्रणालीकै बदनाम भइरहेका बेला पनि मुख्य राजनीतिक दलहरूको ढुलमुलेपन र अवसरवादी सोचाइका कारण कर्मचारी ऐन निर्माणमा हाबी हुँदै गए । यसको परिणाम अहिलेसम्म पनि सङ्घीय प्रणाली अनुरूपको निजामती सेवा व्यवस्थापन भएको छैन । यसमा पनि कर्मचारी सङ्गठनको दबाबसामु राजनीतिक दलको नेतृत्व झुक्दै गएकैले यो समस्या आइरहेको बुझ्न कठिन छैन । यो समस्याले नेपाल वायुसेवा निगम, सिमेन्ट उद्योगलगायतका संस्थान, विश्वविद्यालय, निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानसमेतको हुर्मत लिने काम भएको छ । विश्वविद्यालय त भिसीलगायत पदाधिकारीको नियुक्तिमा विद्यार्थी, कर्मचारी र प्राध्यापक सङ्घ सङ्गठनको दबाबकै कारण डुबेका छन् । यस्तो लाग्छ ट्रेड युनियनहरू आफैँ कार्यरत संस्थामा आगो झोसेर खरानी पोको पार्दै घरतिर दौडिन हतारमा हुन्छन् र राजनीतिक नेतृत्व उनीहरूले ल्याउने खरानीमा आफ्नो आङ सेकाउन व्यस्त छ ।

ट्रेड युनियनको ऐतिहासिक भूमिका

ट्रेड युनियन आन्दोलन पँुजीवादी उत्पादन पद्धतिकै सहउत्पादन हो । निजी प्रतिष्ठानले श्रमको अत्यधिक शोषण गरेर आफ्नो मुनाफा वृद्धि गर्ने जस्तोसुकै हतकन्डा पनि अपनाउने, कुनै पनि बेला कामदारलाई कामबाट निकाल्ने, उसलाई केवल बाँच्न र उसको मृत्युपछि आवश्यक पर्ने श्रम गर्ने उत्तराधिकारी जन्माउन सक्ने गरी मात्र ज्याला दिने गर्थे । यस्ता प्रतिष्ठानमा काम गर्ने श्रमिकको दयनीय र अमानवीय अवस्थाबारे फ्रेडरिक एङ्गेल्सले आफ्नो प्रसिद्ध कृति ‘कन्डिसन अफ वर्किङ क्लास इन इङ्ल्यान्ड’ मा विस्तारमा चर्चा गरेका छन् । यस्तो अवस्थाबाट मुक्त हुन मजदुरहरू सङ्गठित हुन थालेपछि नै ट्रेड युनियनको स्थापना र विश्वव्यापी विस्तार भएको हो । बेलायतको चर्चित चार्टिस्ट आन्दोलन ट्रेड युनियन आन्दोलन सङ्गठित उद्योगमा भएका पहिलो चरणको मजदुर आन्दोलनको अभिव्यक्ति थियो । पछि गएर अरू पेसा र व्यवसायका कामदारमा यस्ता सङ्गठन विस्तार हुँदै गए ।

निश्चय नै खास गरी मजदुर, किसान र विद्यार्थी सङ्गठनको विश्वको राजनीतिक आन्दोलनमा अग्रणी भूमिका छ तर राजनीतिक रूपले कुनै अधिनायकवादी व्यवस्थालाई विस्थापित गरेर लोकतान्त्रिक पद्धतिको विकास भएका देशमा ट्रेड युनियनको भूमिका आफ्नो पेसागत हक हितका पक्षमा प्रतिष्ठानलाई निरन्तर दबाबमा राख्न सीमित रहन्छ । यस्ता सङ्गठन वरपर हजारौँ लाखौँको सङ्ख्यामा सङ्गठित रहने कामदारको मतले चुनावमा अर्थपूर्ण हस्तक्षेप गर्न सक्ने भएकाले राजनीतिक दल पनि यस्ता सङ्गठन बनाउन या उनीहरूका मागबारे सकारात्मक पक्षपोषण गर्न बाध्य हुन्छन् । यसले विश्वका विकसित पुँजीवादी प्रजातन्त्र भएका देशमा समेत अर्थपूर्ण भूमिका खेलिरहेकै छ । 

ट्रेड युनियन र विद्यार्थी सङ्गठन मूलतः राजनीतिक प्रकृतिका संस्था हुन् । यस्ता सङ्घ सङ्गठनसँग मूलतः चार वटा शक्ति हुन्छन् । पहिलो, यिनीहरू सङ्गठित हुने भएकाले राजनीतिक दलको प्रचारप्रसार र प्रतिपक्षी शक्तिलाई कमजोर बनाउन यस्ता सङ्गठन काम लाग्छन् । दोस्रो, तलब र सुविधा मात्र होइन, संस्थाको दोहन गरेरसमेत यसका पदाधिकारीले कमाउन सक्ने भएकाले उनीहरू राजनीतिक दलका लागि दाता सरह हुन्छन्, लेबी र चन्दा सहयोगको स्रोत बन्छन् । तेस्रो, दबाब सिर्जना गरेर सम्बन्धित संस्था (विद्यालय, विश्वविद्यालय, संस्थान र सरकारमातहतका कार्यालय) को नीति निर्माणमा हस्तक्षेप गर्छन् । चौथो, दबाबका माध्यमबाट नेतृत्व छनोटमा राजनीतिक दलका हितको सुरक्षा गर्छन् । साना हुन् या ठुला दल सङ्घ सङ्गठनका उपरोक्त भूमिकाबाट राजनीतिक लाभ हासिल गर्न लालायित हुन्छन्, जसले अन्ततोगत्वा राज्यलाई र सम्बन्धित संस्थालाई पनि हानि गर्छ ।

पुच्छरले हल्लाइरहेको शरीर

विराटनगर जुटमिलमा २००४ सालमा भएको मजदुर आन्दोलनदेखि नै नेपालमा थालनी भएको ट्रेड युनियनले आन्दोलन २०३६ सालपछि शक्ति आर्जन गर्दै गएको हो । यस्ता सङ्गठनको निर्माणमा नेपालका कम्युनिस्ट र उदारवादी दुवै खाले राजनीतिक दलको सव्रिmय भूमिका रहेको छ । २०४६ सालको आन्दोलनपछि राजनीतिक दलको नेतृत्वमा सरकार बन्न थालेदेखि नै खास गरी कर्मचारी, शिक्षक र प्राध्यापकका सङ्गठन, संस्थानका ट्रेड युनियन थप प्रभावकारी मात्र बनेनन्, आफ्ना पेसागत हितमा सीमित नरहेर उनीहरू आफू कार्यरत संस्थालाई नै ट्रेड युनियनको स्वार्थ अनुरूप चलाउन सव्रिmय भए । यसले हाम्रो शासनप्रणालीमा उत्तरदायित्वको अभाव हुर्काउन मद्दत गरेको छ । 

सुशासन र सेवा प्रवाहलाई सहज बनाउन यस्ता सङ्गठनले कहिल्यै योजनाबद्ध र सङ्गठित प्रयास गरेको थाहा पाइएको छैन । कर्मचारी सङ्गठनमा काम गरेकै कारणले उनीहरुको पहुँच सिधै प्रधानमन्त्री र मन्त्रीसम्म हुने र कतिपय अवस्थामा मन्त्रालयका सचिव र सहसचिवसम्मको सरुवा बढुवामा समेत यिनीहरूको हात बलियो हुने भएकाले प्रशासनमा उल्टो सोपान निर्माण भएको छ । टिप्पणी तलबाट माथितिर सर्ने प्रकृतिको हुन्छ भने निर्णय चाहिँ माथिबाट हुने र तलकाले लागु गर्ने पद्धति हुन्छ तर राजनीतिक शक्तिका आडमा सचिवलाई पहिले निर्णय गर्न लगाएर पछि टिप्पणी उठाउन बाध्य पार्ने र सचिवले सुब्बासँग या शाखा अधिकृतसँग खुसामद गर्नुपर्ने अवस्था सिर्जना भएको छ भनिन्छ ।

गत फागुनमा हाम्रो आमा र बाको अन्तिम संस्कार लगातार जस्तो गर्नु परेको थियो । त्यसव्रmममा कर्मचारीदेखि शिक्षक र पत्रकारदेखि राजनीतिक व्यक्तित्वसम्म भेटघाटका लागि आएका थिए । यसरी आउनेमध्ये भएका राजनीतिक कुराकानीमा केही महìव पाएको विषय सुशासनको अभावबारे थियो । सिंहदरबारमै कर्मचारीका रूपमा कार्यरत केही साथीका अनुभवमा एउटै निष्कर्ष थियो, अहिलेको समस्याको ८० प्रतिशत कारण नेपालको नोकरसाही संयन्त्र हो । यसलाई सही लिकमा ल्याउन सके सुशासन र विकासले गति लिन्छ (केहीले त जोड दिएरै यो विषयमा कलम चलाउन मलाई आग्रहसमेत गरेका थिए) । यसका पछाडि ट्रेड युनियनको दबाब र त्यसको बाटो दीक्षित भएर हुर्केको नेतृत्वको हात छ भनेर विश्वास गर्न सकिन्छ । मसँग यस सम्बन्धमा कुरा गर्ने ९० प्रतिशतले कर्मचारी संयन्त्र र १० प्रतिशत जतिले मात्र राजनीतिक नेतृत्वलाई दोष दिने गरेका छन् (यसको सत्यापनमाथि पूरा दाबी गर्ने अनुसन्धान भए÷नभएको मलाई थाहा छैन) ।

ट्रेड युनियनहरू आधुनिक लोकतन्त्रका अभिन्न अंश हुन् । कतिसम्म भने पञ्चायत जस्तो अधिनायकवादी व्यवस्थाले समेत आफ्ना समर्थक सङ्गठन बनाउने गथ्र्यो । कम्युनिस्ट आन्दोलनमा त ट्रेड युनियन राजनीतिका मुख्य आधार नै हुन् । अझ भन्दा मजदुर सङ्गठन साम्यवादी दलका लागि मातृसंस्था सरह हो । यस्ता दबाब समूहको अभावमा सत्ता या राज्य निरङ्कुश बन्ने जोखिम रहन्छ । यसै गरी खास गरी निजी प्रतिष्ठानले मजदुरको श्रमको अत्यधिक शोषण गर्ने र त्यसबाट सामाजिक, आर्थिक असमानता बढ्ने, अर्थतन्त्रमा प्रभावकारी मागमा कमी आउने र समग्रमा सामाजिक असन्तोष र विद्रोह हुने सम्भावना पनि बढ्न सक्छ तर यसको भूमिका पुँजीपतिको प्रतिष्ठानकै व्यवस्थापनमा हस्तक्षेप गर्ने, के उत्पादन गर्ने, कति उत्पादन गर्ने र बजारमा कसरी लाने भन्नेसम्मको विषयमा दखल दिन थाल्यो भने चाहिँ यो उत्पादक शक्तिको विकासमा बाधक हुन सक्छ । यस्तो हुनु विद्रोहको अवस्था हो, शान्तिपूर्ण राजनीतिक अवस्था होइन । अहिले त यस्तो देखिँदै छ, संविधान र कानुन हातमा लिने तर कुनै जिम्मेवारी वहन नगर्ने शक्तिलाई सरकार र राजनीतिक दलले पुठोमा हात लगाएर उचालिरहेका छन् । हाम्रो राज्य प्रणाली जति यस्ता सङ्गठनको दबाब अनुरूप ऐन बनाउन, नीति नियम बनाउन थाल्छ, त्यसपछि राज्यले समग्र समाजको नेतृत्व गर्ने आधार र नैतिक बल दुवै गुमाउँछ । 

यहाँनिर उठाउन खोजिएको कुरा यति हो कि राजनीतिक नेतृत्वले राज्यका आधारभूत नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन बनाउने हो । यसमा स्वार्थ समूह र सम्बन्धित दबाबसामु सङ्गठनका कुरा सुन्नु पर्छ तर स्वार्थ समूहकै दबाबमा झुक्ने राज्यले समग्र समाजको स्वार्थको रक्षा गर्न असमर्थ हुन्छ । जब यस्ता स्वार्थ समूहले आफ्नो भूमिकाको सीमा नाघेर हस्तक्षेप गर्छन्, त्यतिबेला उनीहरूसँग राज्यले पनि कठोर व्यवहार गर्नु पर्छ । यसतर्फ हाम्रो सरकार र राज्यका निकायको ध्यान जाओस् । 


Author

झलक सुवेदी