• ६ वैशाख २०८२, शनिबार

छैन कृषकलाई प्रविधिको सुविधा

blog

ओखलमा धान कुटेर चामल बनाउँदै छायानाथ रारा नगरपालिका–४ का महिला । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, वैशाख, ४ गते । जिल्लाका कृषकलाई आधुनिक कृषि ज्ञान सीप दिनलाई स्थापना भएको कृषि विकास कार्यालय हो। तर जिल्लाको कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयका कर्मचारी कार्यालयको योजना हेर्दै दिनचर्या बिताएका छन्।

छायानाथ रारा नगरपालिका वडा नं ६ का मानबहादुर रोकायाका अनुसार जिल्लामा स्थापना भएका कृषि विकास र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयका कर्मचारीले  कृषकको खेतबारीमा पुगेर आवश्यता अनुसारको आधुनिकीकरण ज्ञान र सीप दिएका छैनन्।  कृषकलाई सम्बन्धित कार्यालयका कर्मचारीले खेत बारीमै ज्ञान नदिँदा परम्परागतको  खेती लगाउन बाध्य रहेको उहाँले गुनासो गर्नुभयो । 

सामाजिक अभियान्ता रूपबहादुर मल्लका अनुसार कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालयमा भवन र सिँचाइ जस्ता योजनाका कार्यक्रम हुँदा  कर्मचारीले  योजनाकै काममा  दौडधुप गरेको पाइन्छ । भवन र सिँचाइ जस्ता योजना राज्यका सम्बन्धित निकाय  सिँचाइ र भौतिक पूर्वाधार  विकास कार्यालय मार्फत यस्ता लागु गर्नुपर्ने देखिन्छ। 

 कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय मुगुका कर्मचारीले जिल्लाका किसानको सहजताका लागि  खेतबारीमा कृषि र  फलफूल सम्बन्धी योजना बनाउने तर व्यावसायीक रूपमा खेती गरिरहेका कृषकलाई  निःस्वार्थ भावनाले प्राविधिक ज्ञान नि नसकेको बताउँछन् । 

छायानाथ रारा नगरपालिका वडा नम्बर ७ का  स्थानीय कृषक रामलाल रावल किसानलाई घरदैलोमै गएर ज्ञान र सीप दिनुपर्ने बताउनुहुन्छ । 

यता कृषि विकास कार्यालय मुगुका कार्यालय अधिकृत गणेश अधिकारीका अनुसार यो आर्थिक वर्ष बगैंचा व्यवस्थापन तालिम र तरकारी खेती सम्बन्धी तालिम  मन्त्रालयको योजना अनुसार  जिल्लामा तालिम भएको छ। कार्यालयमा आएर कृषि सम्बन्धी जानकारी लिन आउने कृषकलाई सहजै जानकारी दिएको बताउनुभयो ।