• ६ वैशाख २०८२, शनिबार

हनुमान जन्मोत्सवको शोभायात्रा प्रकरणमा पाँच जनामाथि मुद्दा दर्ता

blog

दीपकप्रसाद गौतम
वीरगन्ज, वैशाख ४ गते ।
वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रामा दुई समुदायबिच भएको झडपमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको कसुरमा पक्राउ परेका पाँच जनामाथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार झडप भएको क्षेत्रको सिसिटिभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सामग्री र प्रमाणका आधारमा हालसम्म पाँच जनालाई नियन्त्रणमा लिई तीन जनामाथि राज्यविरुद्धको कसुर र दुई जनालाई आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पक्राउ परेका शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, शकिल मियाँ, रवि सर्राफ र बलजित सिंह रहेको जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

गत शनिबार हनुमान जन्मोत्सवको शोभायात्रा वीरगन्ज–२ छपकैयामा पुगेपछि दुुई फरक धार्मिक समुदायका बिच झडप हुुनुका साथै त्यहाँको पसल, सवारी, साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।