विजयकुमार साह
ढल्केबर, वैशाख ४ गते । धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ । बुधबार बिहान ७ः३० बजे भएको आगलागीपछि धनुषा र महोत्तरी जिल्लामा विद्युत् सेवा प्रभावित भएको थियो । बिहीबार दिउँसो ३ बजेबाट ती जिल्लामा पुनः विद्युत् आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका महासचिव विनोद लोहनीका अनुसार ढल्केबर ग्रिडबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनको करेन्ट ट्रान्सफरिङ उपकरण पड्किएपछि आगलागी भएको थियो । प्रारम्भमा देशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति प्रभावित भए पनि क्रमशः सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । धनुषा र महोत्तरीमा भने २९ घण्टापछि विद्युत् सुचारु भएको उहाँले जानकारी दिनुभयो ।
आगलागीका कारण सब स्टेसनका पावर ट्रान्सफर्मर, सिटी केबल र ब्रेकर जलेर नष्ट भएको महासचिव लोहनीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट भएको क्षतिको यकिन विवरण सङकलन भइरहेको छ ।
यसअघि पनि सोही सब स्टेसनमा आगलागीको घटना भइसकेको थियो । नेपाल–भारत विद्युत् आदान–प्रदान समेत यही सब स्टेसनमार्फत सञ्चालन हुँदै आएको छ । ढल्केबरदेखि भारतको मुजफ्फरपुरसम्मको प्रसारण लाइन यस सब स्टेसनमार्फत जोडिएको छ ।
विद्युत् सेवा बन्द हुँदा मधेश प्रदेशको राजधानी जनकपुरधामसहित विभिन्न क्षेत्रका जनजीवन प्रभावित भएको थियो । सरकारी सेवा प्रवाहसमेत अवरुद्ध बनेको थियो ।