शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख ४ गते । ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ ।
चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ ।
गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो ।
गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
जिल्ला स्तरिय प्रतियोगिताका लागि सञ्चालन हुनुभन्दा १५ दिन अघि देखी प्रशिक्षकको व्यवस्था गरेर गाउँपालिकाले तयारी गरिएको शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख विवेक तामाङले बताउनुभयो । प्रत्येक माध्यमिक तहका विद्यालयलाई एक–एक लाख बजेट दिने गाउँपालिका अध्यक्ष तामाङले गत वर्ष घोषणा गर्नुभएको थियो ।
प्रतियोगितामा सात स्वर्ण र दुई रजत सहित कुल नौ पदक जित्दै चिशंखुगढी गाँउपालिका द्वितीय भएको छ । छ स्वर्ण, एक रजत र तीन कास्य सहित कुल १० पदक जित्दै मानेभन्ज्याङ गाँउपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष प्रथम भएको सिद्धिचरण नगरपालिका भने यसपटक तीन स्वर्ण छ रजत र नौ कास्य पदकका साथ १८ पदकका साथ चौथो भएको छ ।
यस्तै लिखु गाउँपालिकाले तीन स्वर्ण, दुई रजत र पाँच कास्य पदक गरी १० पदकसहित पाँचौँ, दुई स्वर्ण, चार रजत र छ कास्य पदकसहित मोलुङ गाँउपालिका छैठौँ भएको छ । खिजीदेम्बा गाँउपालिका एक स्वर्ण, चार रजत र तीन कास्य पदकका साथ सातौं भनेको छ भने प्रतियोगिताको आयोजक तथा व्यवस्थापक चम्पादेवी गाउँपालिकाले एउटै पनि स्वर्ण पदक जित्न सकेन ।
जिल्लाका आठ स्थानिय तह मध्ये चम्पादेवी चार रजत र एक कास्य पदक सहित आठौँ बनेको छ । गत वर्ष देखी जिल्लाका विभिन्न स्थानिय तहहरूमा पालै पाले प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको खेलकुद अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खिजीदेम्बा वा मानेभन्ज्याङ गाउँपालिकामा हुने भएको छ । कुन स्थानिय तहमा सञ्चालन गर्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।