स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख ४ गते । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको ‘मकैबाली प्रवर्धन कार्यक्रम’अन्तर्गत चार थान हाते ट्याक्टर र तीस किलो बिउ वितरण गरिएको हो ।
बिहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान तथा उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रूपमा किसानलाई ट्याक्टर वितरण गर्नुभएको हो ।
कार्यक्रमअन्तर्गत कैलाश–३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको बिउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्वबिक्रम मल्लले बताउनुभयो ।
कार्यक्रमका लागि छुट्याइएको चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले दुई लाख बजेट विनियोजन गरेको हो, भने दुई लाख रुपियाँ रकम कृषकको परेको कृषि शाखाले जनाएको छ ।
वितरण गरिएको चार वटै ट्याक्टरको मिनिटिलर सात एचपी डिजिल इन्जिन रहेको कृषि तथा पशु विकास शाखाका प्राविधिक सन्दिप कुशहवाले बताउनुभयो ।
यसैगरी, कैलाश वडा नम्बर–१० का वडाअध्यक्ष सूर्यबहादुर रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ तथा कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरूको उपस्थिति रहेको थियो ।