• ६ वैशाख २०८२, शनिबार

प्युठान अस्पतालको निर्माणाधीन पाँच तले भवन अलपत्र

blog

विगत छ महिनादेखि अलपत्र अवस्थामा रहेको प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन । तस्बिर : सलिम मियाँ

सलिम मियाँ
बिजुवार, वैशाख ४ गते ।
प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन विगत छ महिनादेखि अलपत्र परेको छ । २१ करोड ३० लाख रुपियाँ लागतमा नेपालगन्जस्थित ग्रान्ड डिजाइन कन्स्ट्रक्सनले ठेक्का लिएर सुरु गरेको निर्माण कार्य हाल रोकिएको छ ।

१५ शय्याबाट ५० शय्यामा विस्तार गर्ने लक्ष्यसहित २०८० चैत ७ गते सुरु गरिएको निर्माण कार्य २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो । तर हालसम्म खास प्रगति नभएको अस्पताल प्रमुख डा. मनोज आचार्यले जानकारी दिनुभयो ।

“२०८१ फागुनमै निर्माणमा समस्या देखिएको भनेर सम्बन्धित निकायलाई जानकारी गराएका थियौं,” उहाँले भन्नुभयो, “तर ठेकेदार गणेश भुसाल सम्पर्कविहीन छन् ।”

भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, बालमैत्री र लिफ्टसहितको अन्डरग्राउन्ड पार्किङयुक्त भवन अलपत्र हुँदा स्थानीयवासी चिन्तित छन् ।

स्थानीय लवकुमार अधिकारीले विकासप्रतिको आशा फेरि अधुरो हुने आशङ्का व्यक्त गर्नुभयो ।

प्युठान नगरपालिका–४, बिजुवारस्थित अस्पताल ३१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र २०४५ सालदेखि स्वास्थ्य सेवा दिँदै आएको छ ।