• ६ वैशाख २०८२, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाउँदै चेम्बर अफ कमर्स, रुपन्देही । तस्बिर : सीता काफ्ले

सीता काफ्ले
तिनाउ (रूपन्देही), वैशाख ४ गते ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रूपन्देहीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्गठनले बिहीबार बिहान रूपन्देहीको भैरहवामा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनले विमानस्थललाई तत्काल पूर्ण र नियमित रूपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगाएतका माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।  

निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरूको शिघ्र समाधान गरिनुपर्ने सङ्गठनको माग छ ।

त्यस्तै, गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने, विमानस्थलमा व्यापार र निर्यात प्रवर्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने सङ्गठनले माग गरेको छ ।

सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरूका लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बिमा, इम्बार्केसन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउन्टर स्थापना गर्नुपर्ने बताउनुभयो । 

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले लुम्बिनी प्रदेश मात्र नभई सम्पूर्ण देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

‘‘विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा समेत यसको नियमितता हुन सकेको छैन,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘कहिले चल्ने र कहिले बन्द हुने अनिश्चित अवस्थाले उद्योगी, व्यवसायी, पर्यटक तथा सर्वसाधारणमा निराशा बढेको छ ।’’