नौरते नेपाली
सिंजा (जुम्ला) वैशाख ३ गते । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी करिब ९ सय पर्यटन भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो ।
हालसम्म ३ सय आन्तरिक पर्यटक गिडिदहमा पुगिसकेको बताउँदै उहाँले २०८२ मा उक्त सङ्ख्यालाई तीन गुनाले वृद्धि गरिने जानकारी गराउनुभयो । पर्यटकलाई गिडिदहसम्म पुर्याउने वातावरण बनाउन भ्रमण वर्षको घोषणा गरिएको उहाँको भनाइ छ ।
वडाध्यक्ष रोकायाले गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि पदमार्ग, पुल र धर्मशाला लगायतका भौतिक संरचना निर्माण गरिने बताउनुभयो । गिडिदहलमा ५० जना अट्ने क्षमताको धर्मशाला निर्माण भइसकेको बताउँदै वडाध्यक्ष रोकायाले फूलचउल्यामा अर्को धर्मशाला निर्माण गरिने छ ।
फूलचउल्यादेखि गिडिदहसम्मको छोटो पदमार्ग निर्माणको काम अघि बढेको वडाध्यक्ष रोकायाको भनाइ छ । पर्यटकको सहजताका लागि गिडिदह खोलामा झुलुङ्गे पुल निर्माण हुने उहाँले जानकारी गराउन गराउनुभयो । वडाध्यक्ष रोकायाका अनुसार आउने भदौमा गिडिदहमा प्रर्यावरणीय सम्मेलन हुने बताउनुभयो । हाँकु त्रिवेणीदेखि फूलचउल्या सम्मको १३ किलोमिटर बाटोको डिपिआर भइसकेको उहाँकाे भनाइ छ ।
गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा १ करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको उहाँको भनाइ छ । पदमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।
गिडिदह भ्रमण वर्ष घोषणा कार्यक्रममा पुग्नु भएका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले जुम्ला पर्यटन र फलफूल उत्पादनमा बलियो सम्भावना भएको बताउनुभयो । जिल्लाका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सबै स्थानीय तह एकजुट भएर लाग्न उहाँले सुझाव दिनुभएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिदह कर्णाली प्रदेशको तेस्रो गहिरो तालमा मापन भएको बताउनुभयो ।
गिडिदह भ्रमण वर्षलाई सफल पार्न स्थानीय सरकारले प्रचार प्रसारलाई जोड दिने उहाँको भनाइ छ । पर्यटनको विकासले तातोपानीमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय फस्टाउने र जुम्लाको आर्थिक स्तरमाथि उठ्ने अध्यक्ष चौलागाईले बताउनुभयो । जुम्लाको आर्थिक भविष्यलाई नयाँ उचाइमा पुर्याउने पर्यटकिय सम्भावना गिडिदहले बोकेको छ ।