• ६ वैशाख २०८२, शनिबार

पर्यटकीय गन्तव्य थोलेदेम्बामा गल्फ महोत्सव

blog

गल्फ खेल्दै खेलाडी । तस्बिर : गोरखापत्र

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख ३ गते । नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यको सूचिमा परेको ओखलढुङ्गाको थोलेदेम्बामा गल्फ महोत्सव गरिएको छ । 

देशका सात उच्च डाँडा मध्यको ३३५० मिटर उचाईको थोलेदेम्बा डाँडामा पर्यटन प्रवद्र्धनका लागि महोत्वस गरिएको हो । खिजीदेम्बा गाउँपालिकाको आयोजनामा नयाँ वर्षको दिन देखी दुई दिन महोत्वस सञ्चालन भएको थियो । 

महोत्सवमा कोरिया, भुटान, बेलायात लगायत छ देशका गल्फ खेलाडीहरु सहभागी भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । पर्यटन व्यवसायी एमव् गल्फ खेलाडी आङदोर्जी शेर्पाको पहलमा गत वर्ष देम्बाडाँडामा गल्फका लागि आवश्यक पुर्वाधार निर्माण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

भुटान लगायत नेपालका गल्फ विज्ञहरुले सम्भाव्यता अध्ययन गर्नुभएको थियो । खेलकुदको माध्यमबाट गाउँपालिका र सिंगो देशको आर्थिक विकासका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

गल्फका लागी अत्यावश्यक केही संरचनाहरु निर्माण गर्नु पर्ने भएकाले ओखलढुङ्गाका संघिय सांसद रामहरि खतिवडा मार्फत अध्यक्ष शेर्पाले सरकार संग माग गर्नुभएको छ । खेलले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले बजेटका लागि पहल गर्ने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनु भएका सांसद खतिवडाले प्रतिवद्धता गर्नुभएको छ । सरकाले देम्बा डाँडामा गरेको लगानीले देशलाई फाईदा पुग्ने सभापति खतिवडाले बताउनुभयो । 

उक्त क्षेत्रको प्रवद्र्धनका लागि २०७४ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा थोलेदेम्बा महोत्सव गरिएको थियो । यहाँ बाट आठ हजार माथी उचाईका सात वटा हिमालका सँगै अध्यक्ष हिमशृंकलाहरुको दृश्यवलोकन गर्न सकिन्छ । 

देम्बा डाँडा आसपासमा २८ प्रकारका गुराँस लगायत मनोरम दृश्य देख्न सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । गल्फ महोत्सवको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघिय सांसद रामहरि खतिवडाले उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश सदस्यद्वय प्रदिपकुमार सुनुवार, बाबुराम गौतम, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायत अतिथीहरु उपस्थित हुनुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न समुदायका साँस्कृतिक झाँकी लगायत रोज मोक्तान, मिङमा शेर्पा लगायत कलाकारहरुले साँगितिक प्रस्तुती दिनुभएको थियो ।