• ६ वैशाख २०८२, शनिबार

ढल्केबर विद्युत सब स्टेसनमा आगलागी

blog

ढल्केबरस्थित विद्युत सव स्टेशन । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख ३ गते । धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत् सब स्टेसनमा आगलागी हुँदा धनुषा र महोत्तरी जिल्लाको विद्युत् आपूर्ति दिनभर अवरुद्ध भएको छ । सब स्टेसनमा बुधबार आगलागी भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका महासचिव विनोद लोहनीले ढल्केबर ग्रिडबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनको करेन्ट ट्रान्सफरिङ उपकरण पड्किँदा आगलागी भएको बताउनुभयो। उहाँले सुरुमा देशका थुप्रै जिल्लाको विद्युत् आपूर्ति अवरुद्ध भए पनि अरू जिल्लाको सेवा क्रमशः सुचारु गरिएको बताउँदै धनुषा र महोत्तरी जिल्लामा भने दिनभर विद्युत् सेवा बन्द रहेको उहाँले जानकारी दिनुभयो ।

विद्युत सेवा अवरुद्ध भएपछि ती दुई जिल्लाका सरकारी कार्यालयहरूको कामकाज समेत प्रभावित भएको छ । महासचिव लोहनीका अनुसार आगलागीका कारण सब स्टेसनका पावर ट्रान्सफर्मर, सिटी केबल र ब्रेकर जलेका छन् । १३२ केभी लाइन सुचारु भएपछि विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ । तर ३३ केभी लाइन अझै सुचारु हुन सकेको छैन । प्राविधिकहरू मर्मतको काममा खटिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ । नयाँ दुई ट्रान्सफर्मर जडानको काम भइरहेको र ती सञ्चालनमा आएपछि कुल विद्युत् आपूर्तिको झन्डै ७० प्रतिशत सेवा पुनः सुचारु हुनेछ ।”

केही दिनअघि पनि सोही सवस्टेशनमा आगलागी भएको थियो । ढल्केबर सवस्टेशनमा धेरै सङ्ख्यामा विद्युत् उपकरणहरू जडान रहेका छन् । यही सब स्टेसनबाट नेपाल–भारतबीचको विद्युत् आदान–प्रदान समेत हुँदै आएको छ । ढल्केबरदेखि भारतको मुजफ्फरपुरसम्मको प्रसारण लाइनमार्फत नेपाल र भारतबीच विद्युत् आपूर्ति सञ्चालनमा रहँदै आएको छ ।

यता, चर्को गर्मीको समयमा बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुँदा मधेश प्रदेशको राजधानी जनकपुरधामसहित विभिन्न क्षेत्रका जनजीवन प्रभावित भएको छ । विद्युत नहुँदा सरकारी कार्यालयको सेवासमेत समस्या उत्पन्न भएको छ ।