• ६ वैशाख २०८२, शनिबार

वीरेन्द्रनगर नगरपालिका र त्रिपुरासुन्दरी नगरबिच असल अभ्यास सिकाइका लागि सम्झौता

blog

विष्णुप्रसाद देवकोटा
डोल्पा, वैशाख ३ गते ।
नविनतम अभ्यास र सेवा प्रवाह सुधारका लागि विरेन्द्रनगर नगरपालिका सुर्खेत र त्रिपुरासुन्दरी नगरपालिका डोल्पाबिच आपसी साझेदारीमा सिकाइ आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । कर्णाली प्रदेश सरकारका सभामुख नन्दा गुरुङ्गले कर्णलीको भूगोलको अध्यायन नगरी वास्तविकता थाहा नहुने भएकाले आफु अध्यायन भ्रमणमा डोल्पा पुगेको बताउनुभयो ।

दुई अन्तरपालिकाबिच भएको नविनतम अभ्यासको आदानप्रदान कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुहुँदै यसले आपसी सम्बन्धलाई सुदृढ बनाउने बताउनुभयो ।

डोल्पा भने जस्तो दुर्गम नभएको आफुले पाएको र विस्तारै डोल्पा विकासाेन्मुख तर्फ अगाडि बढेको प्रस्ट्याउदै आफुले सदनमा प्रत्यक्षरूपमा डोल्पा र डोल्पालीको माग र समस्या सम्बोधन नगरे पनि सांसदमार्फत गर्नुपर्ने सहयोग गर्ने पनि सभामुख गुरुङ्गले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल भण्डारीले कर्णाली प्रदेशकै ठुलो भूगोल भएको नगरपालिकाका रूपमा राष्ट्रिय राजमार्ग पूरा भएमा डोल्पा र सुर्खेतबिचको दूरी अझै घट्ने बताउनुभयो । उहाँले विगतभन्दा फरक दृष्टिकोणले विकासलाई हेर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक र पूर्वाधारलाई उच्च प्राथमिकता दिएको उल्लेख  गर्नुभयो । उहाँका अनुसार नगरपालिकामा ६० सामुदायिक र १०० संस्थागत दुई प्राज्ञिक विद्यालय सञ्चालनमा छन् । जसमा करिब ७० हजार बालबालिका अध्ययनरत छन् ।

ढकालले सुर्खेत–डोल्पा सडकको पूर्णताले दुबै नगरका लागि आर्थिक र सामाजिक लाभ हुने बताउँदै, डोल्पामा भएका असल अभ्यासबाट सिक्ने अवसर रहेको बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाले पञ्चायतकालदेखि सङ्घीय व्यवस्थासम्मका अभ्यासलाई तुलना गर्नुको साटो जनताको आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए । आन्तरिक राजस्व शून्य भएकाले योजना कार्यान्वयनमा कठिनाइ रहेको र हाल ५५ करोड अनुमानित बजेट रहेको बताउनुभयो ।

उहाँले साझेदारीमार्फत असल अभ्यास सिक्न सुर्खेत जाने योजना रहेको र अन्तरपालिका सम्बन्धले आगामी दिनमा थप मजबुत सम्बन्ध बनाउने विश्वास व्यक्त गर्नुभयो । विरेन्द्रनगर सुर्खेतका उपप्रमुख निलकण्ठ खनालले साझेदारीबाट निश्चित रूपमा दुबै पालिकाले लाभ उठाउने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले २०३३ सालमा स्थापना भएको नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता आवश्यक रहेको उल्लेख गर्दै, असल अभ्यासबाट सिकेर अझ सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार १५ लाखभन्दा कम लागतका योजना इभिड प्रणालीमार्फत कार्यान्वयनमा ल्याइँदै आएको छ भने खानेपानी, स्वास्थ्य, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ ।

उहाँले उपमहानगरको लक्ष्यसहित योजना अगाडि बढाइएको जानकारी दिनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर थापाले लामो समयदेखि असल अभ्यासको माध्यमबाट नगरपालिकालाई समृद्ध नगरपालिका बनाएर अनुभव सङ्गालेको वीरेन्द्र नगर नगरपालिकाका जनप्रतिनिधिहरूको सहि र असल सुझावले त्रिपुरासुन्दरी नगरपालिकालाई शैक्षिक क्षेत्रको मात्र नभई समग्र क्षेत्रको समृद्धका लागि मार्ग दर्शन बन्ने बताउनुभयो ।

उनीहरूले धर्मिक पर्यटकीय क्षेत्रको प्रवर्धन, सडक पूर्वाधार निर्माण र सुशासनका अभ्यासहरू आदानप्रदान गरी स्थानीय तहलाई थप सक्षम बनाउने उद्देश्यका साथ सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुखसहित कर्णली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विकको समेत उपस्थिति रहेको थियो ।