• ३ वैशाख २०८२, बुधबार

शिक्षक आन्दोलन : पाल्पाका सामुदायिक विद्यालय प्रभावित

blog

बिन्दु थापा
पाल्पा, वैशाख ३ गते ।
शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले पाल्पामा विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० देखि शिक्षकले सडक आन्दोलन गरिरहेको र आफ्ना माग पूरा नहुँदासम्म पाल्पाका सबै विद्यालय बन्द गर्ने घोषणासहित शिक्षक महासङ्घ पाल्पाले प्रेस विज्ञप्तिमार्फत शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएको हो । आन्दोलनको समर्थनमा यहाँका विभिन्न शिक्षक संघ तथा सङ्गठनले संयुक्त विज्ञप्ति निकाल्दै सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

पाल्पाको तानसेन नगरपालिका २ मा रहेको देववाणी साधारण तथा संस्कृत मावीका प्राधानाध्याक कृष्णबहादुर थापाले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनुभयो । थापाले सबै शिक्षक आन्दोलनमा काठमाडौँ गएको र सरकारले माग सम्बोधन नगरेसम्म शैक्षिक कार्यक्रम अगाडि नबढ्ने र पाल्पाका कुनै पनि सामुदायीक विद्यालय नखोल्ने जानकारी दिनुभयो ।

शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द छन् । यहाँका स्थानीय तहले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताउनुभयो  ।

शिक्षकहरू शैक्षिक आमड्ताल गरेर आन्दोलनमा हुनुहुन्छ । सबै सामुदायिक विद्यालय बन्द छन् शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन । नगरप्रमुुख श्रेष्ठले भन्नुभयो, “हामीले भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएका छौं, तर उहाँहरू आन्दोलनमा हुनुहुन्छ । यसबाट अभिभावक र विद्यार्थी निराश हुनुभएको छ । यो समस्या समाधान गर्नेतिर लागिरहेका छौं ।”