चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ३ गते । ताप्लेजुङमा आयोजना गरिएको कञ्चनजङ्घा हीरक महोत्सवभर राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने भएको छ । वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन हुने तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएको हो ।
आयोजक कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अनुसार महोत्सवको उद्घाटन अर्थात पहिलो दिन राष्ट्रिय कलाकार मिलन नेवार, इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ, पदम राई र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहने छ ।
यस्तै, दोस्रो दिन शनिबार पुष्पाञ्जली तिलिङ, कुशल थलङ, डेभिड शङ्खर र बालकलाकार रुक्साना लिम्बूले साङ्गीतिक प्रस्तुति दिनुहुने छ ।
महोत्सव समापनका दिन राष्ट्रिय कलाकार दीपक लिम्बू, मनु नेम्बाङ, पाल्मु शेर्पा र कञ्चन थलङको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूका अनुसार प्रीति थलङ, उत्सव सावा, पूर्णकुमार काम्बाङ, सोनिका तामाङ, सुमन कुरुम्बाङ लगायतका स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि महोत्सवभर रहने छ ।
कञ्चनजङ्घा हिमालको चुचुरोमा मानव पाइला पुगेको अर्थात् कञ्चनजङ्घा आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो । कञ्चनजङ्घा हीरक महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गर्न लागिएको छ । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउने र जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले जनाएको छ ।