• ३ वैशाख २०८२, बुधबार

कैद १७ दिन फरार २४ वर्ष

blog

टोपलाल अर्याल

रेसुङ्गा, वैशाख ३ गते । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र एक हजार ५०० रुपियाँ जरिवानाको फैसला गरेको थियो । तर उहाँ २४ वर्ष फरार हुनुहुन्थ्यो । 

प्रहरीले ०८१ चैत २९ मा पक्राउ गरेर अदालत पेस गरेको छ । त्यस्तै लागु औषध मुद्दामा ०७७ जेठ २६ गते गुल्मी जिल्ला अदालतबाट दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना भएका गुल्मीदरबार गाउँपालिका–५ का २५ वर्षीय क्यिटन परिवार गत चैत २५ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै सत्यवती गाउँपालिका–६ का ४२ वर्षीय शङ्करप्रसाद भण्डारीलाई चेक अनादर गरेको मुद्दामा जिल्ला अदालत गुल्मीले ०७९ असार २३ गते तीन हजार रुपियाँ जरिवाना फैसला भएको थियो । 

भण्डारीलाई प्रहरीले तीन वर्षपछि चैत २८ गते पक्राउ गरेर अदालत पेस गरेको छ । इस्मा गाउँपालिका–६ का ४१ वर्षीय भोटबहादुर कुमाललाई जबरजस्ती चोरीमा जिल्ला अदालत गुल्मीबाट ०७० जेठ २५ गते एक वर्ष १५ दिन कैद र ५० हजार ८५० रुपियाँ जरिवाना फैसला भएको थियो । फरार कुमाललाई ११ वर्षपछि गुल्मी प्रहरीले गत चैत २५ गते पक्राउ गरेर अदालत पेस गरेको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय नियमित पत्रकार सम्मेलन गर्दै आएको छ । 

सम्मेलनमा मासिक विवरण सार्वजनिक गर्ने गरिएको छ । जस अनुसार फैसला कार्यान्वयन तर्फ चैत महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । जसमा पाँच वर्ष सात महिना सात दिन कैद र पाँच लाख ८२ हजार ६२० रुपियाँ जरिवाना असुल भएको भुजेलले बताउनुभयो ।