चितवन समाचारदाता
चितवन, वैशाख ३ गते । भरतपुरका दुई वटा फराकिलो सडकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट जडान गर्न लागिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न सात स्थानमा ट्राफिक लाइट जडान गर्न लागिएको हो ।
फराकिलो सडक निर्माण भएपछि ट्राफिक लाइट नहुँदा सवारीसाधन जथाभाबी रोक्ने र चलाउने गरिँदै आएको थियो । ट्राफिक लाइटको माग भए पनि बजेटको अभावमा काम अगाडि बढाइएको थिएन ।
सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक, केन्द्रीय बसपार्कसहित सात स्थानमा ट्राफिक लाइट राख्न लागिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले ट्राफिक लाइटका लागि एक हप्ताभित्र टेन्डर आह्वान भइसक्ने जानकारी दिनुभयो ।
“अबको ६०÷६५ दिनमा टेन्डर प्रव्रिmयाको काम सकिएर ट्राफिक लाइट जडानको काम सुरू हुन्छ,” उहाँले भन्नुभयो, “सङ्घीय बजेटमा जडान हुनलागेको हो, केन्द्रबाटै ठेक्का आह्वान हुन्छ ।” ट्राफिक लाइट जडानको विषयमा छलफल भएर काम अगाडि बढिसकेको उहाँले बताउनुभयो ।
पुलचोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम पूरा भएर सडकमा रङरोगनसमेत भइसकेको छ । सडक विस्तारपछि यो आकर्षक देखिनुपर्ने हो तर जथाभावी पार्किङ गरिँदा बजार क्षेत्र कुरूप देखिँदै आएको छ । विशेष गरी नारायणगढमा पार्किङ व्यवस्थापन अस्तव्यस्त बनेको हो । भरतपुरको चौबिसकोठी, हाकिम चोक र बसपार्क चोक थप अस्तव्यस्त हुने स्थान हुन् । बाइपासको मालपोत चोकमा अत्यधिक भिड हुनथालेपछि दुर्घटनाको जोखिम बढेकाले प्रहरी खटाइने गरेको छ ।
भिड भए पनि पार्किङ व्यवस्थापनका लागि अहिलेसम्म देखिने गरी काम भएको छैन । छोटा दुरीका सवारीसाधन चल्ने सर्भिस लेन नै ‘पार्किङ स्थल’ बनेको छ । भरतपुर महानगरपालिकाले पार्किङका लागि जग्गा उपलब्ध गराएपछि पार्किङको व्यवस्थापन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताउनुभयो । “२५ किमीभन्दा कम दुरीमा चल्ने सवारीसाधनलाई सर्भिस लेनमै हालेका छौँ । हामीलाई समस्या भनेको पुलचोकदेखि लायन्स चोकको बिचमा हो,” उहाँले भन्नुभयो ।
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति बनेको छ । समितिले पार्किङका लागि ठाउँ तोकेर प्रतिवेदन बुझाएपछि पार्किङ व्यवस्थापन कडाइका साथ लागु हुने उहाँले बताउनुभयो । “समितिले प्रतिवेदन बुझाएको छैन, हामी प्रतिवेदन कुरेर बसेका छौँ । प्रतिवेदन आएपछि कडाइका साथ लागु गर्छाैं,” उहाँले भन्नुभयो । एक्सप्रेस लेनमै पार्किङ गर्नेलाई दैनिक रूपमा कारबाही भइरहेको उहाँले जानकारी दिनुभयो । महानगरले लायन्स चोकमा बनाउने भनेको बहुप्रयोगी भवनको टेन्डर रद्द भएपछि त्यो ठाउँलाई निःशुल्क पार्किङको रूपमा खुलाएको छ तर उक्त ठाउँमा सवारीसाधन पार्किङ गरिएको छैन । “हाम्रो प्रवृत्तिको कारणले त्यो ठाउँ पार्किङमा प्रयोग भएको छैन,” उहाँले भन्नुभयो, “सेवाग्राहीलाई जुन पसलमा जाने हो, त्यही पसलको अगाडि पार्किङ गर्नु पर्छ, त्यस्तो प्रवृत्ति छ ।”
लायन्स चोक, सहिद चोक र पुलचोकमा कम्तीमा एउटा पार्किङस्थल आवश्यक भएको छ । पैदल यात्रु व्यवस्थापनका लागि महानगरले सडकको मेडियम र पेटीमा रेलिङ हाल्दै छ । यात्रु व्यवस्थापनको काम सुरू भइसकेको भन्दै उहाँले पार्किङस्थल तोकिएपछि व्यवस्थापनको काम कडाइका साथ लागु हुने बताउनुभयो ।
भरतपुर महानगरका उपमेयर अधिकारीले पार्किङ व्यवस्थापनको काम अगाडि बढाउन तयार भएको भन्दै अगाडि भन्नुभयो, “जग्गा छनोट भइसकेको छ, जग्गाधनीसँग सम्झौता गर्न बाँकी छ ।” नारायणी पुलको पश्चिमपट्टी नदी किनार, सहिद चोकमा व्यक्तिको जग्गा, चौबिसकोठीमा वाणिज्य बैङ्कको जग्गा पार्किङका लागि छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।