राजु लामिछाने
रुकुमपश्चिम, वैशाख २ गते । रुकुमपश्चिमका विभिन्न विद्यालयहरूले वैशाख २ देखि हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौँमा भइरहेको आम शैक्षिक हड्तालका कारण विद्यालयमा भर्ना अभियान लगायतका कार्यक्रमहरू स्थगित गरिएको विद्यालयले जनाएका छन् ।
जिल्लाको मुसीकोट नगरपालिका–१ खलङगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले एक सूचना जारी गर्दै भर्ना अभियान स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले गत चैत २० गतेदेखि शिक्षक महासङ्घको नेतृत्वमा राजधानीकेन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल चलिरहेकोले आजदेखि हुने भनिएको भर्ना अभियान स्थगन गरिएको बताउनुभयो । प्रधानाध्यापक केसीले अर्को सूचना जारी नभएसम्मका लागि विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण कार्यक्रमहरू नहुने उल्लेख गर्नुभयो ।
त्यसैगरी, त्रिवेणी गाउँपालिका –७ मुरुडाँडामा रहेको साधारण माध्यमिक विद्यालयले पनि भर्ना अभियान स्थगित गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक भीमबहादुर बुढाथोकीले वैशाख २ गतेबाट हुने भनिएको विद्यार्थी भर्ना अभियान लगायतका कार्यक्रमहरू शिक्षकहरूको आन्दोलन तथा अनिश्चितकालिन आम हड्तालका कारण स्थगन गर्नुपरेको जनाउनुभयो ।
जिल्लाका अन्य विद्यालयहरूले पनि भर्ना अभियान सञ्चालन गरेका छैनन् । देशभरबाट राजधानीकेन्द्रित शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन चर्काउने उनीहरूको भनाइ छ ।