प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), वैशाख २ गते । रौतहटको माधवनारायण नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । शहीद गङ्गालाल रास्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौं तथा माधव नारायण नगरपालिका रौतहटको संयुक्त आयोजनामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले जानकारी दिनुभयो ।
नगर प्रमुख यादवले वैशाख ६ गते शनिबारका दिन माध्यमिक विद्यालय माधोपुरमा सञ्चालन गरिने शिविरमा शहीद गङ्गालाल रास्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डा. सतिशकुमार सिंहसहितको टोलीको प्राविधिक सहयोग रहने बताउनुभयो । शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटु रोग तथा उच्च रक्तचाप सम्बन्धी रोगहरूको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधी निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो ।
शिविरमा इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क परीक्षण समेतको सुविधा रहेको छ । माध्यमिक विद्यालय माधोपुरको प्राङ्गणमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने शिविरबाट लाभ लिन यस क्षेत्रका बासिन्दासँग नगर प्रमुख यादवले आग्रह गर्नुभयो ।