• ६ वैशाख २०८२, शनिबार

‘मुख स्वास्थ्यलाई हेलचेक्र्याइँ गर्दा पूरै शरीरमा असर पुग्छ’

blog

काठमाडौँ, वैशाख २ गते । धेरैले मुख स्वास्थ्यलाई बेवास्ता गर्दै आएका छन् । मुख स्वास्थ्यलाई रोकथाम गर्न सकिने भए पनि हेलचेक्र्याइँ गर्दा धेरै मानिस मुखसम्बन्धी रोगबाट प्रभावित हुने गरेकको चिकित्सकको भनाइ छ । 

दाँत किराले खाने, गिजासम्बन्धी रोग, मुखको क्यान्सर विकाससित र अल्पविकासित देशमा जनस्वास्थ्य समस्याको रूपमा देखा पर्दै आएको छ । विश्वमा ५० प्रतिशत मानिस दाँतमा कीरा लाग्ने समस्याबाट पीडित छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा गरेको अध्ययनले नेपालमा लगभग ३.४ मानिसमा ओठ र मुखको क्यान्सरबाट प्रभावित हुने देखाएको छ । नेपालमा एकदेखि नौ वर्षका करिब ५१.२ प्रतिशत बालबालिकाको दाँत किराले खानुका साथै १५ वर्षभन्दा माथि उमेरका करिब १४.८ प्रतिशतमा जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित भएका छन् । 

मुख स्वास्थ्यमा कुन–कुन अङ्ग पर्छन्
मुख स्वास्थ्य भन्नाले दाँतको मात्र समस्या नभई ओठ देखिभित्र घाँटीसम्मको भाग पर्दछ । दन्त चिकित्सक डा.भूमेश काफ्लेका अनुसार ओठदेखि भित्र घाँटीसम्मको भागलाई मुख भनिन्छ । दाँत, गिजा, भित्री गाला, भित्री ओठ, तालु, जिब्रो, च्यापु, मुख खोल्न वा बन्द गर्ने जोर्नी मुखभित्र पर्छन् ।

मुखमा देखिने समस्यामा जन्मजात समस्या जस्तै–चिउँडो सानो हुने, जन्मजात नै काटिएको ओठका समस्या देखिन्छन् । त्यो बाहेक गिजाको रोग, दाँत किराले खाने, श्वास गनाउने, दाँत सिरिङ्ग सिरिङ्ग हुने, दाँतमा दाग बस्ने मुखमा सङ्क्रमण हुने जस्ता समस्या देखिने डा.काफ्लेको भनाइ छ ।

डा.काफ्लेले बिरामी मुख स्वास्थ्यलाई  हेलचेक्र्याइँ गरेर समस्या निकै जटिल भइसकेपछि मात्र अस्पतालमा पुग्ने बताउनुहुन्छ । प्राय बिरामी दाँत दुख्ने, मुखमा घाउ आएर, गिजामा समस्या भएर, दाँतमा कीरा लाग्ने जस्ता समस्या लिएर अस्पतालमा पुग्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बिरामी प्राय दाँत दुखेर, गिजा सुनिने, पिप जम्ने, दाँतमा पूरै बिग्रिसके पछि मात्र अस्पताल पुग्ने गर्छन् । त्यो बेलासम्म ढिला भइसकेकाले उपचार महँगो हुनुका साथै उपचार गर्न धेरै समय लाग्ने गर्छ ।”

यदि मुखको स्वास्थ्यलाई हेलचेक्र्याइँ गरियो भने शरीरका अन्य अङ्गमा पनि असर पुग्ने उहाँको तर्क छ ।

अन्य स्वास्थ्यमा समस्या
डा.काफ्लेले मुखमा सङ्क्रमण भएमा सङ्क्रमण फैलिएर घाँटी हुँदै फोक्सोसम्म पुग्ने उहाँ बताउनुहुन्छ । चिकित्सकका अनुसार मुख स्वास्थ्य बिग्रदै जाँदा मुटुको धमनी बन्द भई ह्दयघात र स्ट्रोक हुने जोखिम बढ्छ । मुखमा भएका केही किटाणुले फोक्सोमा असर गरी निमोनियाको समस्या निम्त्याउछ । गर्भावस्थामा गिजाको समस्या उत्पन्न भई अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्मने गर्छन् ।

अनुसन्धानले गिजाको रोग भएका मानिसलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने देखाएको छ । नियमित मुखको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्ने चिकित्सक बताउछन् । मुखका ब्याक्टेरिया मस्तिष्कमा गई अल्जाइमर रोग निम्तने सम्भावना बढ्छ ।

मुखको स्वास्थ्य बिग्रने कारण

चिकित्सकका अनुसार मुख स्वास्थ्यमा खराबी आउनु कारक तत्त्व सुर्तीजन्य पदार्थको प्रयोग हो । त्यो बाहेक मदिरा सेवन र उच्च चिनीयुक्त अस्वस्थ आहारका कारणले गर्दा पनि मुख स्वास्थ्य बिग्रने गर्छ ।

सोडा जस्ता मिठाई र चिनीयुक्त पेय पदार्थले मुख स्वास्थ्यमा असर पुर्‍याउने चिकित्सक बताउँछन् । नसर्ने रोग जस्तै हृदयरोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वास रोग र मधुमेह भएका मानिसमा मुख स्वास्थ्यमा समस्या निम्तने गर्छन् । बच्चालाई दुध चुसाएर सुताउँदा पनि बालबालिकाको दाँत कीरा लाग्ने काफ्लेको भनाइ छ ।

रोकथाम
चिकित्सकका अनुसार बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित मुख सफा गरेमा करिब ९० प्रतिशत मुखको रोगबाट बच्न सकिन्छ । त्यो बाहेक खाना साथ मुख कुल्ला गर्ने, दाँतको बिचमा डेन्टल फ्लस गर्ने, बालबालिकामा दुई वर्ष नपुग्दासम्म सफा कपास र पानीले र दुइ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने । रेसादार, ताजा फलफूल, हरियो सागपात जस्ता सन्तुलन खाना खाने ।

टाँसिने प्रशोधित, गुलियो धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने । धुम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी नखाने । हरेक पाँच महिनामा दन्त परीक्षण गराउने । फ्लोराइड टुथ टुथपेस्टले दिनमा दुई पटक दाँत माझ्ने । नरम ब्रसको प्रयोग गर्ने । जिब्रोको लेपका कारणले सास गन्हाउनबाट बच्न जिब्रो सफा गर्ने । गर्भावस्थामा हर्मोन परिवर्तनका कारण गिजा सुन्निने, गिजाबाट रगत बग्ने हुँदा गर्भवती हुने योजना बनाउँनु अघि दाँतको जाँच गराउन चिकित्सकको सुझाव छ ।