• ३ वैशाख २०८२, बुधबार

आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा

blog

वडा कार्यालय भवनको उद्घाटन गर्दै नगरप्रमुख वासुदेव अधिकारी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख १ गते ।
भौगोलिक हिसाबले सर्लाहीको सबैभन्दा ठुलो र विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, मा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा ल्याइएको छ ।

लालबन्दी १५ को झरझरामा निर्माण भएको वडा कार्यालय भवनको सोमबार नगरप्रमुख वासुदेव अधिकारीले उद्घाटन गर्नुभएको छ । यसअघि लालबन्दी १६ स्थित परवानिपुरमा वडा नं. १५ र १६ को संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको थियो ।

करिब ३६ लाख रुपियाँ लागतमा चार कोठे एक तले वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष गोरबहादुर बलले जानकारी दिनुुभयो । लालबन्दी १६ का सरोजकुमार खड्का र ललितकुमार थापा (राजु) ले निःशुल्क प्रदान गरेको चार कठ्ठा १० धुर जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

सोमबार वडा कार्यालय भवन उद्घाटनकै अवसरमा जग्गादाताद्वय खड्का र थापालाई कदर–पत्रसहित सम्मान गरिएको छ । त्यस्तै, निर्धारित मितिमै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी भेषबहादुर बोम्जन (टिका) लाई समेत वडा कार्यालयले कदर–पत्रसहित सम्मान गरेको छ ।

वडाध्यक्ष बलले आगामी बुधबारदेखि नवनिर्मित वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरिने बताउनुभयो । १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा अब वडा नं. १४ नारायणखोलाबाहेक अन्य वडाको आफ्नै वडाभित्र वडा कार्यालय भवन सञ्चालनमा आएका छन् ।

भौगोलिक हिसाबले अत्यन्त ठुलो र चुरेका विकट क्षेत्र धेरै रहेका लालबन्दी १५ मा वडा कार्यालय निर्माणका विषयमा केही समयअघि विवाद सिर्जना भएको थियो । चिसापानी, बोहोरेडाँडालगायत पश्चिमीभेगका स्थानीयले आफूहरुको ठाउँमा वडा कार्यालय बनाउनुपर्ने माग गरे पनि पछि सहमति गरी झरझरामा भवन निर्माण गरिएको हो ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो लालबन्दी नगरपालिका वडा नं. १५ ले ७७.२४ वर्गकिलोमिटर भूू–भाग ओगटेको छ । वडाध्यक्ष बलले चुरेको पहाडैपहाड रहेको वडामा जुन ठाउँमा वडा कार्यालय निर्माण गरेपनि कुनै न कुनै गाउँका स्थानीयलाई अपायक पर्ने अवस्था रहेको तर सबैको सहमतिमा तुलनात्मक हिसाबले सबैलाई पायक पर्ने झरझरामा वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 

वडाध्यक्ष बलको अध्यक्षता तथा नगरप्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।