राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख १ गते । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न वडामा पुगेर नागरिकको आँखा परीक्षण गरिएको छ । गाउँ तहमा नै पुगेर गरिएको आँखा परीक्षणबाट नागरिकहरु खुसी भएका हुन् । वालिङ नगरपालिकाकाको आयोजना र हिमालय खाँखा अस्पताल पोखराको सहयोगमा गाउँगाउँमा पुगेर नागरिकको आँखा परीक्षण गरिएको हो ।
नगरपालिकाका सात वडामा गरिएको आँखा परीक्षण शिविरमा एक हजार तीन सय ७९ जनाले आँखा परीक्षण गराएका छन् जसमा सबै भन्दा धेरै महिला रहेका छन् । शिविरमा ९१५ जना महिलाले आँखा परीक्षण गराएका वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । आँखा परीक्षणका क्रममा १९० जनामा मोतियाबिन्दु भेटिएको उहाँको भनाइ छ । उनीहरुको वैशाख ६ र ७ गते वालिङमा नै निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको प्रमुख पाण्डेको भनाइ छ ।
पहिलो चरणमा सात वटा वडामा गरिएको निःशुल्क आँखा परीक्षणबाट नागरिक हर्षित भएको भन्दै नगरप्रमुख कृष्ण खांणले अन्य वडामा पनि शिविर सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाको समस्या भए पनि उपचारका लागि बजारसम्म पुग्न नसक्ने नागरिकहरु गाउँमा नै फाईदा लिन पाएका छन्, यसलाई निरन्तरता दिन्छौं ।”
शल्यक्रिया गर्नु पर्ने बिरामीहरुको लागि सहज होस् भनेर नै वालिङ कै गह्रौं प्राथमिक अस्पतालमा शल्यक्रियाको व्यवस्था मिलाइएको उहाँको भनाई छ ।