• २ वैशाख २०८२, मङ्गलबार

अबको आवश्यकता कृषिमा आधुनिकरण : प्रधानमन्त्री ओली

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

विष्णुप्रसाद पोखरेल

दमक, चैत ३१ गते। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको आवश्यकता कृषिमा आधुनिकरण र व्यवसायीकरण भएको बताउनु भएको छ। आइतबार झापाको गौरादह र दमकमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले अब उत्पादनको क्षेत्रमा नयाँ क्रान्ति ल्याउनु पर्नेमा जोड दिनुभयो। ‘‘अब उत्पादन र उत्पादकत्व बढाउन लाग्नुपर्छ’’, उहाँले भन्नुभयो। परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी खेती प्रणालीले आर्थिक उपार्जन हुननसक्ने बताउदै सामूहिक खेती प्रणालीमा लाग्न आग्रह गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले सामूहिक कृषिमा लाग्न आग्रह गर्नुभयो। ‘‘एकल नभएर सहकारी, सामूहिक र समूहमा आवद्ध भएर कृषिमा लाग्न आग्रह गर्दछु’’, उहाँले भन्नुभयो। गौरादहको नमुना व्यवसायिक खेती देशकै लागि नमुना भएको भन्दै प्रशंसा गर्नुभयो। व्यवसायीक रुपमा खेती गरेर उत्पादन र उत्पादकत्व बढाएपछि यसको उचित बजारीकरणका लागि स्थानीय र प्रदेश सरकारकाले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

यसैगरी प्रधानमन्त्री ओलीले पछिल्लो समय मुलुकको आर्थिक अवस्था राम्रो हुँदै गएको दाबी गर्नुभएको छ। ‘‘निजी क्षेत्र अहिले उत्साहित छ र लगानीका लागि तयार बनेको अवस्था छ’’, ओलीले भन्नुभयो। मुलुकको आर्थिक अवस्थाबारे कुप्रचार भएको भन्दै उहाँले सबै आर्थिक सूचक सकारात्मक रहेको जानकारी दिनुभयो।


आधारभूत अस्पतालको शिलन्यास

प्रधानमन्त्री ओलीले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सरकार लागि परेको बताउनु भएको छ। आइतबाार झापाको गौरादह नगर अस्पताल भवनको शिलन्यास गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले आधारभूत अस्पतालको सेवा विस्तार गरिने जनाउनुभयो। ‘‘आधारभूत अस्पताल पूर्ण रुपमा चलाएर आवश्यकता अनुसार सेवा विस्तार गर्न सकिन्छ र हामी त्यो गर्छौ’’, उहाँले भन्नुभयो। 

दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता भएको छ। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन।

शैक्षिक सामाग्री वितरण

यसैगरी प्रधानमन्त्री ओलीले झापाको दमकमा एक कार्यक्रमबिच झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट यस्ता सामाग्री वितरण गरेको हो।

शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी विद्यालयलाई यस प्रकारका सामाग्रीले सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो।