• २ वैशाख २०८२, मङ्गलबार

नेपालमा अन्तर्राष्ट्रिय हक्की दिवस मनाइयो

blog

काठमाडौँ, चैत ३१ गते । अन्तर्राष्ट्रिय हक्की महासङ्घ (एफआइएच) स्थापना भएको १००औँ वर्षको अवसरमा नेपालमा पनि अन्तर्राष्ट्रिय हक्की दिवस मनाइएको छ ।

नेपाल हक्की सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थितिमा दिवस मनाएको हो ।

त्रिपुरेश्वरस्थित राखेपमा भएको कार्यक्रममा उपाध्यक्ष आचार्यले दिवसका अवसरमा शुभकामना दिँदै वर्तमान कार्यसमितिले हक्कीलाई अगाडि बढाउन प्रशंसनीय कार्य गर्दै आइरहेको धारणा व्यक्त गर्नुभयो । 

हक्की सङ्घका अध्यक्ष अनिल शर्माले नेपालमा हक्कीको विगत र वर्तमान अवस्था बारे प्रकाश पार्नुभएको थियो । राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले हक्कीको रङ्गशाला निर्माण गर्न धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी गराउँदै पूर्वाधार निर्माण गर्न प्रारम्भिकको कार्य अगाडि बढिरहेको बताउनुभयो । उहाँले ललितपुरको च्याससलमा वैशाख १५ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी पनि दिनुभयो । 

नेपालमा हक्की सङ्घ सातौँ राष्ट्रिय खेल सङ्घका रूपमा २०११ सालमा राखेपमा दर्ता भएको थियो । नेपाल हक्कीले सन् १९२४ मा एफआइएचमा स्थान पाएको थियो । एफआइएचमा एक सय ४० राष्ट्र आबद्ध छन् ।