• २ वैशाख २०८२, मङ्गलबार

क्षमताभन्दा दोब्बर कैदीबन्दी

blog

कालीकोट समाचारदाता

कालीकोट, चैत ३१ गते । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएको पाइएको छ । विभिन्न कसुर प्रमाणित भएका र कानुनको झमेलामा परेर अनुसन्धानको क्रममा जिल्ला कारागारमा ५२ जना कैदीबन्दी बस्दै आएका छन् भने कारागारको क्षमता चाहिँ १५ जना पुरुष र सात जना महिला गरी २२ जनाको मात्रै छ । साँघुरो गोलघरमा कष्टकर जीवन जिउन कैदीबन्दी बाध्य भएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले क्षमता २२ जनाको भए पनि जसोतसो व्यवस्थापन गरेर ५२ जनालाई राख्नु परेको बताउनुभयो । भवन पनि पुरानो र जीर्ण छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ । पुरानो भवन, त्यसैमा साँघुरो भएकाले कैदीबन्दीको जीवन थप कष्टकर भएको कारागार प्रमुख विकले बताउनुभयो । 

जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि एक पटक बजेटको व्यवस्थापन भएको थियो । कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था भएन । एक करोड रुपियाँ फिर्ता गयो । कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै खर्च लाग्ने देखिएको हो ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले डिपिआर बनाएको आफूले जानकारी पाएकोले नयाँ कारागार भवन बनाउने तयारी रहेको बताउनुभयो । उहाँले ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई अन्यत्र कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको 

जानकारी दिनुभयो । बजेटका विषयमा भने प्रदेश सरकारबाट के कति छ बुझ्न बाँकी हुँदा आफूले कारागार विभागसँग समन्वय गरी बन्दी राख्ने भवनलाई प्राथमिकतामा राख्न भनेको बताउनुभयो । उहाँले पनि अर्को वर्ष केही हुन्छ कि भन्ने आस मात्र गर्न सकिने जानकारी गराउनुभयो ।