बोमलाल गिरी
नवलपुर, चैत २९ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
‘‘म दुम्किवास र दाउन्ने खण्डको बिचमा छु, राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन सकेको छैन, डोजरले धकेलेर पास गराए जाने हो नत्र गाडी चिप्लिएर अघि बढ्नै सक्दैनन्,’’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो ।
दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर त्यसै रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।
बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । उहाँले दाउन्नेदेखि पश्चिम झण्डै चोरमारासम्म २० किलो मिटरभन्दा बढी ट्राफिक जाम भएको बताउनुभयो । ‘‘अहिले त यस्तो छ वर्षामा कस्तो हुने होला ?’’ ढकालले भन्नुभयो, ‘‘निक्कै दुःख पाइयो, यात्रुलाई पनि त्यस्तै सास्ती छ ।’’
जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जाराले २४ सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । लोडवाला गाडी फसेका छन्, जसले गर्दा साना सवारी साधन पनि पास हुन नसकेर जाम अत्यधिक भएको छ,’’ प्रहरी निरीक्षक बन्जाराले भन्नुभयो ।