• ५ वैशाख २०८२, शुक्रबार

मुग्लिङ–पोखरा सडक: ४८ प्रतिशत प्रगति

blog

मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्डको पोखरा १० बुद्धचोकमा सडक कालोपत्रे गरिँदै । तस्बिर: फडिन्द्र

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २९ गते । काठमाडौँ र पूर्वी नेपाललाई पर्यटन राजधानी पोखरासँग जोड्ने सडक सहज हुँदै गएको छ । पोखरादेखि मुग्लिङसम्मको सडक स्तरोन्नतिले गति लिँदा पछिल्लो समय कास्कीको पोखरा महानगर क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ । यसअघि मापदण्डका संरचना, बिजुली पोल, खानेपानी पाइप व्यवस्थापन जस्ता समस्याले काम सुस्त थियो ।

तनहुँको कोत्रेदेखि कास्कीको पृथ्वी चोकसम्म १८ किमी राजमार्ग पोखरा महानगरमा पर्छ । खानेपानीको पाइप, बिजुलीका पोल र भौतिक संरचनाको अवरोध हटेकाले निर्माण व्यवसायीले पूर्ण क्षमतामा काम गर्न पाएको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । पश्चिम खण्डको भौतिक प्रगति ४८ दशमलव पाँच प्रतिशत छ ।

यो खण्डमा साढे १७ किमीमा दुई तर्फी कालोपत्रे भएको छ भने साढे १६ किमीमा एकतर्फी कालोपत्रे भएको छ । पश्चिम खण्डमा कतै कालोपत्रे नभएको सडक खण्ड अब चार किमी मात्र छ । तनहुँको थर्पुमा र मौरी भिरमा गरी डेढ किमी सडक कच्ची छ भने पोखरा क्षेत्रमा साढे दुई किमी जति सडक कच्ची छ । 

अमरसिंह चोकदेखि औद्योगिक क्षेत्र गेट, ताल चोक र घोतघोते क्षेत्रमा साढे दुई किमी बाटो कालोपत्रे हुन बाँकी छ । आयोजना प्रमुख कुँवर अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रसम्म अबको हप्ता नै कालोपत्रे गर्ने गरी तयारी भएको बताउनुहुन्छ । पश्चिम खण्डमा अहिले बिजुलीका पोलको समस्या नरहेको आयोजनाले जनाएको छ । अब ५५ वटा पोल गाड्न बाँकी छ भने हटाउनुपर्ने पोल साढे चार सय जति छन् । आयोजनासँगको समन्वयमा काम नरोकिने गरी विद्युत् प्राधिकरणले पोलको काम गरिरहेको छ । 

आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा जारी छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा चार लेनको १८ मिटर चौडा सडक १२ किमी, चार लेनको २३ किमी चौडा सडक ८.५ किमी र छ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा चार ठुला र आठ साना पुल छन् । 

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ । गएको भदौ १२ मै पहिलो म्याद सकिएकोमा दुई पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म यसको म्याद छ । 

पूर्वी खण्डमा एकासी प्रतिशत काम

पूर्वी खण्डको काम यही आर्थिक वर्षभित्र सक्ने गतिमा अघि बढेको छ । मार्च महिनाभित्र यो खण्डको भौतिक प्रगति ८१.७६ प्रतिशत छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजार, विमलनगर र नाहाला पुल आसपास गरी करिब पाँच किमी मात्र कालोपत्रे हुन बाँकी रहेको जानकारी दिनुभयो । 

इन्जिनियर पाण्डे यो खण्डको काम यही आर्थिक वर्षभित्र सकिने देखिएको उल्लेख गर्नुहुन्छ । उहाँले भन्नुभयो, “यही वर्ष सारभूत काम सकिन्छ । सडक हस्तान्तरण भए पनि रङ रोगन, बिरुवा रोप्नेलगायतका सामान्य काम बाँकी रहन सक्छन् ।” पूर्वी खण्डको चार लेनमा पहिलो तहको कालोपत्रे ३७ं दशमलव २६ किमी भइसकेको छ भने दोस्रो तहको कालोपत्रे ३० दशमलव ६ किमीमा भएको छ । पूर्वी खण्डको ४१.४५ सडकमध्ये अब कतै कालोपत्रे नभएको खण्ड करिब पाँच किमी छ । 

इन्जिनियर पाण्डेले भन्नुभयो, “दमौली बजारभित्र चार किमी जति बाँकी छ । विमलनगरको पहिरो र नाहालाको पुल आसपास गरी पाँच किमी जति होला कच्ची बाटो हिँड्नुपर्ने ।” दमौली बजार क्षेत्रमा बेसको काम सकेर कालोपत्रे गर्न थालिएको र विमलनगर क्षेत्रमा पनि रक कटिङ र तलबाट वाल लगाएर उठाउने दुवै काम जारी रहेको उहाँले बताउनुभयो । 

यो खण्डमा बन्नुपर्ने १७ पुलमा सबै बनिसकेका छन् । ती पुलमा आवतजावत गर्न मिले पनि पेन्टिङ, फिनिसिङका केही काम भने बाँकी छन् । छुट्टै ठेक्का लगाइएको मादी पुलको भौतिक प्रगति ६८ प्रतिशत छ । 

२०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्दै छ । छ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का लागेको हो ।