हिले समाचारदाता
हिले, चैत २९ गते । कोशी प्रदेश सरकारले बुधबार २०८२ लाई कोशी पर्यटन वर्षका रूपमा घोषणा गरेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । गुराँसको राजधानी टिएमजे क्षेत्रको तेह्रथुमस्थित आरआर गार्डेनमा भएको शुभारम्भ समारोपछि यहाँका पर्यटन व्यवसायी कोभिड–१९ का कारण सुस्ताएको व्यवसायले पुनः गति लिने अपेक्षा व्यक्त गरेका छन् ।
होटेल व्यवसायी सङ्घ कोशी प्रदेशका अध्यक्ष राजन दङ्गालले भन्नुभयो, “अब प्रदेशले पर्यटनको क्षेत्रमा नयाँ फड्को मार्ने छ ।” अहिलेसम्म निजी क्षेत्रले मात्र पर्यटन प्रवर्धन र प्रचारप्रसार गर्दै आएकोमा अब भने सरकारसमेत लागेकाले पर्यटनको क्षेत्रमा आशा पलाएको उहाँको भनाइ छ । भूकम्प तथा कोभिड–१९ पछि खस्केको पर्यटन क्षेत्रमा अब भने नयाँ ऊर्जा भरिने सुनसरीका पर्यटनकर्मी वासु बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पर्यटन वर्षले पर्यटनकर्मीमा नयाँ उत्साह ल्याएको छ । वर्षाैंदेखि पिल्सिएर रहेका हामी व्यवसायीलाई झकझकाउने काम गरेको छ ।”
प्रदेश सरकारले कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको जनाएको छ । कोशी प्रदेशको आधार नै पर्यटन भएकाले पर्यटनका नीति तथा गन्तव्य तथा पूर्वाधार, प्रचारप्रसारका लागि पर्यटन वर्ष घोषणा गरिएको मुख्यमन्त्री हिकमत कार्कीको भनाइ छ । प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन सुरु गरिएको हो । पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोसी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ । ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूचि यसअघि नै तयार गरी सकेको समेत मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिन नाकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारीसाधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारीसाधनमा आउने र जाने मिति तोकेपछि बिच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य बजार नै भारत हो तर भारतबाट आउने पर्यटकले धेरै झमेला बेहोर्नुपर्ने हुन्छ हामी त्यो अन्त्य गर्न लागि परका छौँ ।”
विश्वकै होचो अरुण उपत्यकादेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । त्यस्तै विश्वका १० अग्ला हिमालमध्ये पाँच वटा हिमाल पनि कोशी प्रदेशमै छन् । यीबाहेक प्राकृतिक, जैविक, वातावरणीय, भूगोल तथा कला संस्कृतिको हिसाबले पनि कोशी प्रदेश पर्यटकका लागि मुख्य गन्तव्य बन्न सक्छ । यो वर्षले ती स्थानको प्रचारप्रसार, पूर्वाधार, भारतीय पर्यटकका लागि सहजता बन्ने भएकाले पर्यटन क्षेत्रमा उत्साह थपिएको होटेल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । प्राकृतिक, जैविक, वातावरणीय, भूगोल तथा कला संस्कृतिको हिसाबले कोशी प्रदेश पर्यटकका लागि उत्कृष्ट छ, यो पर्यटन वर्षले यी सबै कुरा समेटेर अघि बढ्ने छ, विष्ट भन्नुहुन्छ ।