• ५ वैशाख २०८२, शुक्रबार

अर्थतन्त्र सुधारको दिशामा

blog

विश्वका कुनै पनि देशको अर्थतन्त्र अहिले समस्यामुक्त छैन । अमेरिकी कर नीतिले अन्तरदेशीय व्यापारमा परेको प्रतिकूल प्रभावको बादल मडारिरहेको छ । अमेरिका र चीनबिचको कर तनाव कायमै  छ । बाँकी विश्वका निम्ति केही समयका लागि अमेरिकाले भन्सार महसुल स्थगित गरेको देखिए पनि अस्थिरता हट्न सकेको छैन । तीन दशकअघिको उदारीकरण र विश्वव्यापीकरणले संसारकै अर्थतन्त्रमा अनुकूल प्रभाव परेको थियो । आर्थिक वृद्धिसँगै रोजगारीमा सकारात्मक प्रभाव परेको थियो । सूचना प्रविधिसँगै नवीन अन्वेषणले व्यापकता पाएको थियो । यसबिचमा कोभिड–१९ को प्रभाव, लगत्तै 

रुस–युक्रेनबिचको युद्ध, मध्यपूर्वको तनाव आदिले विश्व अर्थतन्त्रलाई प्रतिकूल असर पारेको थियो । कोभिडले पर्यटन अर्थतन्त्रमा चार/पाँच वर्ष नै असर गरेको पाइयो । युद्ध तथा अन्तरदेशीय तनावले इन्धनको मूल्यवृद्धि भई आपूर्ति प्रणालीमा असर पारेको देखियो । यी सबै बाह्य घटनाबाट नेपाली अर्थतन्त्र मुक्त हुन सक्ने अवस्था थिएन । बाह्य प्रतिकूल प्रभावसँगै आन्तरिक अस्थिरता, बारम्बारको सरकार फेरबदल, न्यून पुँजीगत खर्च आदिले विगतमा नेपाली अर्थतन्त्र फस्टाउन सकेका थिएन । सबै अवरोध छिचोल्दै नेपाली अर्थतन्त्रले अहिले भने बिस्तारै सुधारको दिशा लिएको छ । केहीअघि विश्व बैङ्कले नेपाली अर्थतन्त्रमा अपेक्षित सुधारको दिशा लिएको प्रक्षेपण गरेको थियो । पछिल्लो समयमा एसियाली विकास बैङ्क (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । अर्थतन्त्रलाई अझ सुधारको दिशामा लैजान विश्वसनीय संस्थाहरूको अध्ययन एवं सुझावको ठुलो महत्व हुने सन्दर्भमा एडिबीको पछिल्लो निष्कर्ष विशेष महत्वको देखिएको छ ।

पछिल्लो पाँच वर्ष नेपाली अर्थतन्त्रका निम्ति सकसपूर्ण नै रह्यो । आर्थिक वृद्धि लक्ष्य अनुसार हुन नसकेको मात्र होइन, न्यून आार्थिक वृद्धिको कुचक्रमा नेपाली अर्थतन्त्र घुमिरहेको थियो । अब भने बिस्तारै आर्थिक वृद्धि उकालो लाग्ने देखिएको छ । एडिबीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशतले वृद्धि हुने छ । एडिबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आर्थिक वृद्धिमा सुधार आउने देखाएको हो । गत आवमा नेपालले ३.९ प्रतिशत मात्र वृद्धिदर हासिल गरेको सन्दर्भमा यो सुधारले आगामी दिनमा अर्थतन्त्रले गति लिने विश्वास बढेको छ । एडिबीले आर्थिक सुधारका आधार पनि स्पष्ट पारेको छ । नेपाली अर्थतन्त्रमा आन्तरिक मागमा सुधार आएको र निजी क्षेत्रको माग सम्बोधन भएको हुँदा अर्थतन्त्रले सुधार लिने प्रक्षेपण गरेको हो । त्यसै गरी पर्यटनसम्बद्ध सेवाको पुनरुत्थान पनि नेपाली अर्थतन्त्र सुधारको अर्को कारण भएको स्पष्ट गरेको छ । पर्यटन क्षेत्र कोभिडअघिकै तहमा क्रियाशील हुनु सकारात्मक हो । गत आवमा सङ्कुचित भएका प्रमुख आर्थिक क्षेत्र जस्तै औद्योगिक उत्पादन, निर्माण क्षेत्र, पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धता अर्थतन्त्र सुधारको थप आधार भएको पनि एडिबी अधिकारीको निष्कर्ष छ । त्यसै गरी घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारका लागि मार्ग प्रशस्त भएको अवस्थालाई आर्थिक सुधारको महत्वपूर्ण थप आधार मान्नु अन्यथा होइन ।

सुधारले निरन्तरता पाउँदै गए नेपालको वृद्धिदर आगामी आवमा थप बढ्ने एडिबीको प्रक्षेपण सकारात्मक छ । त्यसका निम्ति पुँजीगत बजेट कार्यान्वयनमा सुधार भने वाञ्छनीय छ । त्यस्तै पर्यटन र यससँग सम्बन्धित सेवामा प्रगति तथा यान्त्रिकीकरण र उन्नत सिँचाइ सुविधा तथा अनुकूल मनसुनमा निर्भर कृषि उत्पादकत्व जस्ता आधारभूत पक्ष बलियो हुन सके आगामी आवमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने एडिबीको अनुमान यथार्थपरक देखिन्छ । नेपालको प्रमुख व्यापार साझेदार भारतमा समेत मुद्रास्फीति तल्लो विन्दुमा रहेको छ भने त्यसको प्रभावसमेतले नेपालको मुद्रास्फीति पनि नियन्त्रणमै छ । न्यून मुद्रास्फीतिले महँगी बढ्न नदिने हुँदा उपभोक्तालाई राहत पुग्ने छ । तरलता पर्याप्त भएको र न्यून ब्याजदरले निजी क्षेत्रलाई लगानीका निम्ति पुँजी पहुँच रहेको छ । तथापि अझै पनि जोखिम भने पूरै नहटेको एडिबीकै भनाइ छ । विश्वव्यापी भन्सार महसुल बढ्ने क्रम जारी रहेमा संसारमै आर्थिक मन्दी आउने र त्यसले नेपालको पर्यटन आम्दानी र विप्रेषणलाई असर पुर्‍याउन सक्ने एडिबीको आकलन छ । त्यस्तै वैदेशिक सहयोगमा कमी आएमा विकास निर्माणका लागि विदेशी सहायतामा निर्भर नेपालको आर्थिक वृद्धिमा नकारात्मक असर पर्न सक्नेतर्फ एडिबीले सङ्केत अस्वाभाविक छैन । अतः आन्तरिक स्रोत परिचालनमा ध्यानु दिनु आवश्यक देखिन्छ ।