गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ७७ अर्ब २३ करोड अर्थात् ४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आव २०८१/८२ को आठ महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार अर्ब ३५ अर्ब ८७ करोड अर्थात् ७.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ । गत फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३५.३ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत थियो ।गत फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत छ । अघिल्लो आवको फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६.५ प्रतिशत रहेको थियो ।
कर्जा छ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब चार अर्ब ८२ करोड अर्थात् छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ९९ अर्ब ५० करोड अर्थात् ४.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । गत फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैङ्कहरूको ३.१ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ । गत फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ ।
अघिल्लो आवको फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.७ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो । चालु आव २०८१/८२ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३१.५ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.७ प्रतिशतले, नगद प्रवाह कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.६ प्रतिशतले घटेको छ ।
कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढ्यो
चालु आव २०८१/८२ को आठ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा गत फागुन मसान्तमा यस्तो कर्जा ३.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.९ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा गत फागुन मसान्तमा यस्तो दाबी १४.३ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.६ प्रतिशतले बढेको थियो ।