सञ्जय कुमार मिश्र
गौर, असार ७ गते । रौतहटको राजदेवी र बौद्धीमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राजदेवी नगरपालिकाको १४औँ नगरसभाको खुल्ला सत्र र बौद्धीमाई नगरपालिकाको १० औँ नगरसभाले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको हो ।
राजदेवी नगरपालिकाको१४औँ नगरसभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भिखारी प्रसाद यादवले आन्तरिक आयको वृद्धि गर्दै मानविय तथा भौतिक विकासको पक्षमा ध्यान दिई आर्थिक विकासको आधार तय गर्ने तर्फ केन्द्रित रहने तथा आमजनतालाई विकासको लाभ उपयोग गर्न सक्षम बनाउँदै जनताको जनजीवनमा सुधार ल्याउने बताउनुभयो ।
नगरप्रमुख यादवले आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न ५६ करोड ८५ लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
यसैगरी, बौद्धीमाई नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार यादवले १० औँ नगरसभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत समुन्नत भौतिक पूर्वाधार, सामाजिक विकाससहित सांंस्कृतिक रुपमा उत्कृष्ट नगरपालिका बनाउने र आन्तरिक आय पहिचान तथा आन्तरिक आय वृद्धि गर्दै न्यायोचित वितरणसहित आर्थिक, सामाजिक विकास तथा भौतिक पूर्वाधार क्रियाकलाप मार्फत समृद्ध नगरपालिका बनाउने बताउनुभयो ।
नगरप्रमुख यादवले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकाय तथा आन्तरिक आय गरी प्रस्तावित आय ४३ करोड ९० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा उपनगरप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलगायत नगरवासीहरुको उपस्थिति रहेको बौद्धीमाई नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत उदयशंकर चौधरीले बताउनुभयो ।