भारदह समाचारदाता
भारदह (सप्तरी), असार ७ गते । राजविराज भन्सार कार्यालयले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्म ११ महिनामा पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि जेठसम्म ६४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको राजविराज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आव २०८०÷८१ मा यस कार्यालयले छ करोड ५० लाख ३४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आठ करोड सात लाख ४७ हजार अर्थात् १२४.१६ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका भन्सार अधिकृत सत्यनारायण सिंंहले बताउनुभयो ।
बढ्दो भन्सार छल्ने प्रवृत्ति र खुला सीमानाकाका कारण यस पटक लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । केही साना गाडीबाहेक ठुला गाडी र सामान लिएर व्यापारी भन्सार तिर्न नआउने गरेको र मिलेमतो र चोरबाटोबाट सामान पास गर्ने प्रवृत्तिका कारण प्रयास गर्दागर्दै पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सीमामा कडाइ गर्ने र सबैले इमानदारीपूर्वक राजस्व तिरे भने अर्बांै राजस्व सङ्कलन गर्न सक्ने जिल्ला सप्तरी हो । राजस्व सङ्कलनका लागि सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यक हुन्छ ।”
चालु आवमा सशस्त्र प्रहरीमार्फत २६३, नेपाल प्रहरीमार्फत ५३ तथा भन्सार कार्यालयमार्फत आएको ९२ गरी जम्मा ४०८ मुद्दामा यस कार्यालयमार्फत प्रव्रिmया पु¥याएर ३१३ मुद्दा फैसला गरिएको उहाँले जानकारी दिनुभयो ।
कर्मचारी अभावमा पनि काम गर्न कठिनाइ भएको उहाँको भनाइ छ । कार्यालयमा अधिकृत एक, सुब्बा आठ, लेखापाल एक, कम्प्युटर अपरेटर एक, सवारीचालक एक र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेकामा अधिकृत एक, सुब्बा तीन, लेखापाल एक, कार्यालय सहयोगी दुई, कम्प्युटर अपरेटर दुइै र सवारीचालक एक जना कार्यरत छन् ।
कर्मचारी अभावकै कारण सुब्बाको नेतृत्वमा रहेको छोटी भन्सार कार्यालय सहयोगीको भर पर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुब्बा नभएको ठाउँमा कार्यालय सहयोगीलाई पठाउनुपर्ने बाध्यता छ ।”