• ७ असार २०८२, शनिबार

तिलाठी कोईलाडीले ल्यायो ४३ करोड ८४ लाखको बजेट

blog

गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार ७ गते ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि शिक्षा लागू गर्ने भएको छ ।

बाढीको उच्च जोखिममा रहेका उक्त गाउँपालिकाले आधारभूत तहको कक्षा ८ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा विपद् जोखिम न्यूनीकरण शिक्षालाई लागू गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले शुक्रबार १२औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै विपद् जोखिम न्यूनीकरण शिक्षालाई लागु गर्न आवश्यक व्यवस्था मिलाइने बताउनुभयो ।

सामुदायिक विद्यालयहरुमा चट्याङ प्रतिरोधी प्रणाली जडान, विपदको जोखिमबाट मुक्त राख्न बृहत विद्यालय सुरक्षा योजना निर्माण र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई लक्षित गरी आवश्यक कार्यक्रम ल्याई त्यसको कार्यावन्यन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि, शिक्षा, स्वास्थ र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर ल्याइएको बजेटमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि युवा परिचालन अभियान सञ्चालन गरिने जानकारी दिनुहुँदै अध्यक्ष मण्डलले गाउँसभामा आगामी आर्थिक बर्षका लागि ४३ करोड ८४ लाख १९ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार र पूँजिगत तर्फ १० करोड ९६ लाख चार हजार रुपियाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको कुल आन्तरिक आम्दानी दुई करोड ६१ लाख ४० हजार रुपियाँ अनुमान गरिएको बजेटमा संघबाट प्राप्त हुने वित्तीय समानिकरणतर्फ १० करोड ६७ लाख र सशर्त अनुदानतर्फ १९ करोड १० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट आठ करोड ९० लाख ७९ हजार ३६८ रुपियाँ, प्रदेश सरकार राजश्स्व बाँडफाँटबाट ४५ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरणतर्फ ८० लाख, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, सम्पुरक अनुदान २० लाख प्राप्त हुने प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा उल्लेख छ ।