• २८ वैशाख २०८२, आइतबार

हावाहुरीले गुल्मीका छ स्थानमा क्षति

blog

गुल्मीमा हावाहुरीले क्षति पुर्‍याएको घर । तस्बिर : रमेश विश्कर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत २८ गते ।
गुल्मीमा बुधबार रातिको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हालसम्मका विवरण अनुसार यस जिल्लाका विभिन्न छ स्थानमा क्षति पुर्‍याएको हो ।

धुर्कोट गाउँपालिका–३ बर्दबासका कृष्ण बिष्टको दुई तले घरको पाली हावाहुरीले उडाएको छ । सोही वडाको देवकला महतको ढुङ्गाले छाएको घरको उत्तरतर्फको छानो र टिनले छाएको बाख्राको खोरमा समेत क्षति पुर्‍याएको बताइएको छ । यसै गाउँपालिकाको वडा नम्बर–४ बर्बोट बजारमा अरुण गैरेले सञ्चालन गर्नुभएको सुपारी होटल एन्ड लजको जस्ता पाताले छाएको छानो पूर्णरूपमा उडाएको छ । 

यसैगरी, रेसुङ्गा नगरपालिका–५ गोबानेका अर्जुन विकको दुई तले टिनले छाएको घरको छानो उडाएको छ । सोही नगरपालिकाको वडा नम्बर–१० पाँच रातेका रामबहादुर बस्नेतको घरको छानो उडाएको प्रहरीले जनाएको छ । रुरुक्षेत्र गाउँपालिका–५ ग्वादीका कृष्णप्रसाद ज्ञवालीको ढुङ्गा–माटोले बनेको जस्तापाताले छाएको कच्ची घरको छानो उडाएको बताइएको छ ।

हालसम्म हावाहुरीका कारण मानवीय र पशुचौपायको क्षति भएको छैन । ग्रामीण क्षेत्रका केही विद्यालयहरूमा पनि हावाहुरीको चपेटामा परेका छन् । हावाहुरीका अन्य विभिन्न स्थानहरूमा भएको क्षतिको विवरण विवरण सङ्कलनसँगै अवलोकन गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।