• २६ जेठ २०८२, सोमबार

नमुना पशुपक्षी अस्पतालको भवन निर्माण सुस्त

blog

अलपत्र परेको नमुना पशुपक्षी अस्पतालको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २८ गते । ठेकेदारको लापरबाहीले गर्दा तनहुँमा निर्माणाधीन नमुना पशुपक्षी अस्पतालको भवन अलपत्र परेको छ । तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने भएपनि काम अधुरै छ ।

पशुपक्षीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले गत पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएपनि करिब ७० प्रतिशत मात्रै काम पुरा भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । काम कछुवा गतिमा भएकोले ठेक्का तोड्न लागिएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिनुभयो । 

असार मसान्त सम्मका लागि म्याद थप भएको ठेक्का तोड्न चेतावनी दिएपछि हाल दोस्रो तलाको ढलानको काम पुरा गरेको उहाँले बताउनुभयो । ठेकेदारले कछुवा गतिमा काम गरेकाले सम्झौता अनुरूप सम्पन्न नभएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “असार मसान्त सम्ममा सम्पन्न हुने दु्रत गतिमा काम नगरे ठेक्का तोड्ने चेतावनी दिएका छौँ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको ठेक्का तोड्ने भन्ने चेतावनी दिएपछि हाल सामान धेरै ल्याएर काम गर्न थालेको अधिकारीले बताउनुभयो  ।

केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको चार करोड ९० लाख ८३ हजार रुपियाँको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजना छ । 

साढे एक रोपनी जमिनमा बन्दै गरेको यस अस्पतालका लागि भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड रुपियाँ लाग्ने अनुमान छ । दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसान लाभान्वित हुने छन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने छ ।

यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सेवालाई २४ सै घण्टा सुरु गरेको छ । किसानलाई सहजकताको लागि कार्यालय समय बाहेक पनि कुनै अतिरिक्त शुल्क नलाग्ने गरी चौबिसै घण्टा सेवा प्रवाह सुरु गरिएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, "छिटो उपचार गराउन सकियो भने पशुलाई रोगबाट बचाउन सजिलो हुने भएकोले सेवा विस्तार गरेका हौं ।" रातमा काम गर्ने कर्मचारीलाई कार्यालयमा आवासको व्यवस्था गरिएकोले उपचारका लागि आउने किसानलाई सधैं कार्यालयको ढोका खुला राखिएको अधिकारी बताउनुहुन्छ ।