काठमाडौं, चैत २८ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महशुस गर्ने गरी विकासका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रचारबाजीका लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अब हामीले खाली प्रचारबाजीका लागि यो गर्यौं, त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ ।’’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले बागमती नदी किनारमा रहेका मन्दिरहरुको पुनर्निर्माण र जीर्णाेद्वार गरिएको पनि उहाँले बताउनुभयो । धेरै सम्पदाहरु रहेको बागमती नदी किनारमा हेरिटेज वाकको चर्चा भए पनि काम प्रभावकारी हुन नसकप्रति भने उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘‘हेरिटेज वाकलाई कार्यान्वयन गर्नका लागि कहाँ कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शीर्षकमा पढ्छौं, तर आम नेपाली जनतालाई अत्तोपत्तो छैन ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘कुनै पनि काम गर्दा स्थानीयहरु, स्थानीय पालिका,व डालाई पनि साथैमा लिएर, उहाँहरुलाई चित्त बुझाएर हामीले काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’’
हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदि सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिनुभयो ।
त्यस्तै, उहाँले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि बताउनुभयो । काठमाडौं उपत्यकाका नदिहरु फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उहाँले अब आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन् । नदीहरुको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ ।’’