• २६ जेठ २०८२, सोमबार

बजेट अभावले पुल निर्माण अलपत्र

blog

लमजुङ सदरमुकाम बेसीसहरको पुमाखोलामा निर्माणाधिन मोटरेवल पुल । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत २८ गते । लमजुङमा निर्माणाधीन चार वटा मोटरेवल पुल बजेट अभावका अलपत्र परेका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएका यी पुललाई बजेट नआएपछि काम हुन सकेको छैन ।

लमजुङमा निर्माण थालिएका पाँच वटा मोटरेबल पुलमध्ये एउटा पुलको काम सम्पन्न भइसकको छ । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार दुधपोखरी र दोर्दी गाउँपालिका जोड्ने फुलुङ्गिरी सडकको लाङ्दी खोला मोटरेबल पुल, राइनास नगरपालिका–९ अन्तर्गत तार्दीखोला मोटरेबल पुल, सदरमुकाम रहेको बेसीसहरको वडा नं. ७ स्थित पुमा खोला मोटरेबल पुल र दोर्दी गाउँपालिका–५ करैती खोला मोटरेबल पुललाई बजेट अभाव भएको हो ।  

बहुवर्षिय योजनाअन्तर्गत गत वर्षदेखि निर्माण सुरु भएका मोटरेबल पुलहरुमा चालु आर्थिक वर्षमा विनियोजित भएको बजेटअनुसार रकम नआउँदा बाँकी काम अघि बढाउन समस्या भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमूख ई. विवेक सिग्देलले बताउनुभयो । सबै योजनाहरुमा कामले गति लिए पनि कार्यसम्पादनको आधारमा भुक्तानी दिने रकम नहुँदा सबै योजना आगामी आर्थिक वर्षमा सर्ने कार्यालय प्रमुख सिग्देलले बताउनुभयो ।  

कार्यालयका अनुसार मोटरेवल पुल मात्रै नभई जिल्लामा निर्माणाधीन अन्य योजनाहरुमा पनि रकम अभावले समस्या भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेअनुसार रकम भुक्तानी नगर्दा सम्झौता भएका र सम्पन्न भइसकेका योजनाहरुमा पनि भुक्तानी दिन समस्या भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा भने थप चारवटा मोटरेबल पुल निर्माण शुरु हुने भएका छन् । निर्माण शुरु हुने चारवटा मोटरेबल पुलको लागि टेण्डर आहवान भइसकेको कार्यालयले जनाएको छ ।