• ३ असार २०८१, सोमबार

सुदूरपश्चिम सरकारले सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्ने

blog

सञ्चारग्रामको सम्भाव्यता अध्ययनबारे मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । फाइल तस्विर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २२ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सूचना प्रविधियुक्त सञ्चारग्रामको सम्भाव्यता अध्ययन गर्नेभएको छ । सूचना तथा सञ्चारग्रामको प्रभावकारी व्यवस्थापन, प्रशोधन, भण्डार र उपयोग गर्न सञ्चारग्रामको सम्भाव्यता अध्ययन गरिने आइतबार प्रस्तुत प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ । 

जेठको  पहिलो साता गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट गर्नुहुँदै सञ्चारग्रामको सम्भाव्यता अध्ययन र सञ्चारको संस्थागत व्यावसायिक क्षमता अभिवृद्धिका लागि नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हाली रहनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावललाई समेत सो आग्रह गर्नुभएको थियो । 

महाप्रबन्धक ऐरीको आग्रहअनुसार प्रदेश सरकारले नीति तथा कार्यक्रममा सञ्चारग्राम सम्भाव्यता अध्ययनलाई समेटेको छ । यसैगरी, आम सञ्चार र पत्रकारिता क्षेत्रको विकास एवम् संस्थागत क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।