ललित बसेल
सुर्खेत, चैत २८ गते । सरकारले २०७२ चैत २५ गतेदेखि लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कर्णालीमा कमजोर रहेको पाइएको छ । २०७४ भदौ १ गतेदेखि मात्र कर्णालीमा बिमा कार्यक्रम जुम्ला र रुकुमपश्चिमबाट लागु गरेको हो ।
कर्णालीमा लागु भएको सात वर्षको अवधिमा जनसङ्ख्याको एक चौथाइ अर्थात् २५ प्रतिशतले मात्रै बिमा गरेका छन् । अझै ७५ प्रतिशत जनसङ्ख्या बिमाबाहिर रहेकाले स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कमजोर रहेको पाइएको हो । सामाजिक विकास मन्त्रालयले मङ्गलबार एक कार्यक्रम गरी बिमा कार्यक्रम सोचे अनुसार कार्यान्वयनमा आउन नसकेको जनाएको छ । कर्णालीको कुल जनसङ्ख्या १६ लाखभन्दा बढी भए पनि बिमामा आबद्ध भएकाको सङ्ख्या चार लाख ३१ हजार १७६ अर्थात् २५.५ प्रतिशत मात्रै रहेको छ ।
बिमामा जनता आबद्ध हुन नसक्नुको मुख्य कारणमा जनताको चेतनास्तर कमजोर हुनु र बिमा कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुनु भएको जनाइएको छ । कर्णालीमा पुरुषभन्दा महिलाले बढी स्वास्थ्य बिमा गरेका छन् । जस अन्तर्गत एक लाख ३५ हजार ७४४ जना महिलाले बिमा गरेका छन् भने एक लाख २८ हजार ६७९ पुरुषले मात्रै बिमा गरेका छन् ।
यहाँका ७९ पालिकामध्ये तीन पालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन सकेको छैन । कर्णाली प्रदेश बिमा बोर्डका संयोजक महेशप्रसाद ठाकुरले कर्णाली प्रदेशको डोल्पाको डोल्पो, नमोबुद्ध र से फोक्सुन्डो गाउँपालिकामा बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले सो ठाउँमा बिमा दर्ता कर्मचारी पनि छनोट गर्न नसकेको जस्ता समस्याले बिमा कार्यक्रम लागु गर्न नसकिएकाले यस वर्ष लागु गर्ने प्रयास जारी रहेको उल्लेख गर्नुभयो ।
यसै गरी स्वास्थ्य बिमा गरेबापत सूचीकृत भएका स्वास्थ्य संस्थाले भुक्तानी पाउन सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कर्णालीका अनुसार चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २० करोड ६७ लाख ८४ हजार ६६७ रुपियाँ मात्र भुक्तानी भएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालले सात करोड ४४ लाख ५६ हजार रुपियाँ भुक्तानी दिएको छ ।
कर्णालीमा १२७ वटा स्वास्थ्य संस्था रहे पनि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सूचीकृत स्वास्थ्य संस्थाको सङ्ख्या ३६ वटा मात्र रहेका कारण सेवा प्रदान गर्न ढिलो हुने गरेको छ । यसको व्यापक प्रचारप्रसार गर्न सके, प्रविधि र दक्ष जनशक्ति राख्न सके बिमा कार्यक्रम प्रभावकारी हुने धारणा राखिएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बजेट, जनशक्ति अभावले बिमा कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले दुर्गम स्थानका बासिन्दालाई सहज स्वास्थ्य सेवा प्रदानका लागि प्रदेशभर १३ वटा रणनीतिक अस्पताल निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको र त्यहाँमार्फत पनि बिमा कार्यक्रम बढाउन सकिने उल्लेख गर्नुभयो । स्वास्थ्यमा लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको स्वीकार गर्दै उहाँले यसलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।