बैतडी, चैत २८ गते । बैतडीका निर्माण व्यवसायी सुरेश चन्दले ग्वाल्लेकगाउँमा पाँच करोड रुपियाँको लगानीमा बाख्रा फार्म सुरु गर्नुभएको छ । फार्ममा अहिले डेढ सय बाख्रा रहेका छन् ।
एक हजार बाख्रा अट्न सक्ने क्षमताका दुई ठुला अत्याधुनिक भवन निर्माण गरिएका छन् । बाख्रा चराउन आठ सय रोपनी बाँझो जग्गा सदुपयोग गर्दै घाँस खेती गरिएको छ । फार्ममा छ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्वलगानीमा सुरु भएको एग्रो फार्मको प्रदेशका कृषिमन्त्री वीरबहादुर थापाले अवलोकन भ्रमण गरेर व्यवसायीलाई धन्यवाद दिनुभएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको कृषि र पशुपालनको अवस्थाबारे स्थलगत अनुगमन गर्न मन्त्री थापा गत बिहीबार बैतडी आइपुग्नुभएको थियो ।
दशरथचन्द नगरपालिका–९, गाल्लेकमा स्थापना गरिएको ग्वाल्लेक एग्रो प्रालिमा स्थानीय खरी जात र भारतबाट ल्याइएका सिरोही र तोतापरी जातका करिब डेढ सय बाख्रा छन् । फार्ममा रहेको सिरोही जातको उन्नत बोकाको तौल १८० किलो रहेको बताइएको छ । सिरोही जातका बाख्राको अग्लो कद, लामा कान र औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन् ।
पेसाले निर्माण व्यवसायीसमेत रहनुभएका चन्दले कोरोनाका बेला गाउँमा बाख्रा पाल्ने सोच जागेको बताउनुभयो । बाख्रा पाल्न चार तलाका दुई वटा आधुनिक पक्की भवन निर्माण गरिएको उहाँले बताउनुभयो । एग्रो फार्ममा बाख्रासँगै गाई/भैँसीपालनका लागिसमेत आधुनिक गोठ तयार भएको र केही महिनापछि उन्नत जातका गाई/भैँसीपालन समेत सुरु हुने उहाँले बताउनुभयो । रोजगारीका लागि विदेश जाने युवालाई गाउँमै रोक्ने लक्ष्यका साथ एग्रो फार्म सञ्चालनमा ल्याएको सञ्चालक सुरेश चन्दले बताउनुभयो । चन्द पेसाले ‘क’ श्रेणीका निर्माण व्यवसायी हुनुहुन्छ । निर्माण कम्पनी सञ्चालन गरेर मासिक लाखौँ रुपियाँ आम्दानी हुने भए पनि चन्दले गाउँमा युवा नै नभेटिने अवस्था आएपछि एग्रो फार्म सञ्चालन गरेको बताउनुभयो । गाउँका युवा रोजगारी खोज्न भारत र खाडी मुलुक जान थालेपछि गाउँमा बुढापाकाको मृत्युमा मलामी जाने युवा नभेटिने अवस्था आउन थालेको उहाँले बताउनुभयो ।
“राज्यसँग युवालाई तुरुन्तै रोजगारी दिन सक्ने आधार छैन,” चन्दले भन्नुभयो, “थोरै धनसम्पत्ति हुने तराई झर्न थालेका छन् । बैतडीको जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको छ । बेरोजगार युवा गाउँ छाड्दै छन् । यस्तो अवस्थामा युवालाई गाउँमै रोक्ने आधार भनेको कृषि र पशुपालन मात्रै भएकाले गाउँमा एग्रो फार्म सञ्चालन गरेको हुँ ।” व्यावसायिक रूपमा सञ्चालनमा आएको बाख्रा फार्ममा माउ बाख्राबाट जन्मिएका उन्नत जातका बोका बिक्रीसमेत भएका छन् । बैतडीका युवाले बाख्रापालन गरेर आत्मनिर्भर बन्न चाहेमा ब्याडका लागि २५ हजार रुपियाँमा सिरोही जातको बोका बिक्री भइरहेको फार्मका सञ्चालक सुरेश चन्दले बताउनुभयो ।