• ५ वैशाख २०८२, शुक्रबार

थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु

blog

तस्बिर रासस

काठमाडौँ, चैत २७ गते । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुनापति गाउँपालिका-४, रामेछापको आयोजना तथा ख्वप पौभा च्वमी पुचःको सहकार्यमा आजदेखि ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौँको नक्सालमा आज उक्त प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कलाको उत्थानमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । “सरकारले यस्तो कलालाई चिन्न सकेको छैन । चिनाउन सकेको छैन । यस्तो कलालाई बचाउन सकियो भने देश बन्छ । कलाकारलाई चिन्यो भने देश बन्छ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले थाङ्का/पौभा कला क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठानले २०८२ वैशाख २ गतेदेखि आयोजना गर्न लागेको ‘ललितकला मेला’ अवलोकनका लागि सबैलाई आह्वान गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले थाङ्का÷पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौँको योगदान दिइरहेको उल्लेख गर्नुभयो । रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले आफू विगतमा थाङ्का व्यवसायी रहेको प्रसङ्ग सुनाउँदै जनतालाई स्वरोजगार बनाउन पालिकाले काम गरिरहेको धारणा राख्नुभयो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत कला थाङ्का पौभा नेपालको मौलिक, सांस्कृतिक कला भएको र यसलाई प्रवद्र्धन गर्न सुनापति गाउँपालिका  र बागमती प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

ख्वपः पौभा च्वमी पुचः का उपाध्यक्ष पूर्णप्रसाद ह्योजुले थाङ्का÷पौभालाई समग्रमा परम्परागत कलाका रूपमा हेर्दा सबैलाई समेट्न सकिने बताउनुभयो । प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र मिना लामाले ‘क्युरेटिङ’ गर्नुभएको प्रदर्शनीमा पूर्णप्रसाद ह्योजू, सुन्दर सिंख्वाल, शङ्करकुमार जोशी, समुन्द्रमान सिंह श्रेष्ठ, सोनाम सिंह भ्लोन, माइला दोङ, राम प्रकाश श्रेष्ठ, निरिमाया लामा,सुरेन्द्र शिल्पकार, धोर्चे गुरुङ लामा, अजय कर्माचार्य, रोजिना सिंख्वाललगायतका कला समावेश छन् । प्रदर्शनी आगामी वैशाख ६ गतेसम्म रहने आयोजकले जनाएको छ । रासस