गुणबहादुर रोका
सुलीकोट, चैत २७ गते । गोरखाको भिमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका सामुदायिक वनमा डढेलो नियन्त्रण गर्नका लागि पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रोत्सहन स्वरुप नगद उपलब्ध गराउने भएको छ ।
पालिका भित्र रहेका जङ्गलहरुमा डढेलो नियन्त्रणका लागि गाउँपालिकाले पातपतिङ्गर सङ्कलन कार्यक्रम लागू गरी प्रोत्सहन स्वरुप नगद रकम उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिका भित्र रहेका व्यक्ति, टोलविकास संस्था, युवा क्लब, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीहरु जो कोहिले पनि समबन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयहरुसँग समन्वय गरेर पात पतिङ्गर सङ्कलन गर्नेलाई प्रति केजी दुई सय रुपियाँको दरले नगद उपलब्ध गराउने उहाँले बताउनुभयो ।
‘‘विशेष गरी गाउँपालिकाले डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित पातपतिङ्गर सङ्कलन कार्यक्रम लागू गरेका छौं’’, प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले भन्नुभयो, “सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउनुका साथै बन डढेलोलाई पूर्णरुपमा नियन्त्रण गर्नु गाउँपालिकाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।”
सङ्कलित पातपतिङ्गर सामुदायिक बनले निश्चित ठाउँमा खाडलको व्यावस्था गरिदिन्छ, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “गाउँपालिकाले अनुगमन गरिसकेपछि मात्र जम्मा पारिएको पातपतिङ्गर खाल्डोमा भरिने काम हुन्छ ।”
पातपतिङ्गरबाट बन्ने प्राङगरिक मल बिक्रीको जिम्मा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको हुने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक बनको आयआर्जन बढाउन समेत सहयोग पुर्याउने अपेक्षा पालिकाको छ ।
पातपतिङ्गर सङ्कलन कार्यक्रमले गाउँपालिका भित्रका सामुदायिक बनमा अहिलेसम्म कतैपनि डढेलो नलागेका तथा अहिले सामुदायिक बनमा पातपतिङ्गर टिप्न स्थानियहरु सामुदायिक बनमा लर्को लाग्ने गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।